कृष्णको ‘रानी माया’ सार्वजनिक(भिडियो)



काठमाडौँ। ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत मार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् कृष्ण विकको रहेको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

‘गीतसंगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ । यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ । हामी पनि यस्ता गीतसंगीत प्रति सकारात्मक छौँ’, मन्त्री श्रेष्ठले भने, ‘चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस भनेर नै यहाँ आएको हुँ । आउँदो दिनमा मन्त्रालयले समेत सहकार्य गर्नेछ’, मन्त्री श्रेष्ठले भने । कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले भिडियो आकर्षक बनेको प्रतिक्रिया दिदै तारिफ गरे । ‘गीतको भिडियो निर्माणमा गरिएको मेहनत देखिन्छ । विना सम्झौता प्रोजेक्टलाई स्तरीय बनाउनु हामी कलाकारहरूको लागि झनै राम्रो हो । उहाँहरूसँग मैले काम गरिसकेको छु । यसले पनि दर्शकको माया पाउनेमा विश्वत छु’, अभिनेता हमालले भने ।

गायक कृष्णले गीतसंगीत स्तरीय बनाउने आफ्नो चाहना रहेको बताए । ‘यो मेरो दोस्रो प्रयास हो । अडियो र भिडियोलाई बलियो बनाउने कोसिश गरेको छु । गायनसँगै अभिनय गर्दा रमाइलो भयो’, गायक कृष्णले भने । गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन । गीतमा स्वयम् गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । गीतमा सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ्ग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

निर्देशक जीबीले भिडियोलाई स्तरीय बनाउन निकै मेहनत गरेको बताए । ’गीतलाई हेर्दा पनि उत्तिकै आन्द अओस् भनेर सकेको मेहनत गरेका छौँ । गीतमा सामान्य युवा र राजकुमारीको प्रेमलाई देखाउन खोजिएको छ । गीतले दर्शक र श्रोताको मन जित्नेमा विश्वस्त छु’, निर्देशक जीबीले भने । सार्वजनिक भिडियो गीत नेपाल नामक युट्युब च्यानलमा उपलब्ध छ । कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का लगायतको उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.