लुटको झल्को दिने ‘लाखे’



काठमाडौँ। एक्सन र थ्रिल मिश्रित मल्टी स्टारर फिल्म ‘लाखे’शुक्रबार बाट अल नेपाल रिलिज भएकोछ । रिलिजको पूर्वसन्ध्या पारेर यसको निर्माण समूहले बुधबार राति राजधानीमा लाखेको प्रिमियर शो गरेको छ। सिट संख्याको दोब्बर अतिथि बोलाएर आयोजना गरिएको प्रिमियर शोमा फिल्म हेर्नेले यसलाई मनपराएका छन्। खासगरी अब के होला भन्ने कौतुहलता जगाइराख्न सफल फिल्मको सो पक्षलाई मन पराइएको छ।

नेपाली फिल्मलाई नयाँ मोड दिलाउन सफल फिल्म लुटको झल्को दिने लाखेमा सेसन अर्यालले लेखेको कथा खासै छैन, तर आकाश बरालको पटकथाले दर्शकलाई सिट छोड्न भने दिँदैन। आकाश बराल र अनुप न्यौपानेको केही रमाइला संवादका साथ अघि बढ्ने फिल्मका लागि शैलेश श्रेष्ठ र रोहित शाक्यले तयार पारेको ब्याग्राउन्ड स्कोर र सम्राट बस्नेतको द्वन्द्व दृश्यले दर्शकलाई हलमा बाँधिराख्ने बलियो क्षमता बोकेको छ। पहिलो भागको तुलनामा फिल्मको दोस्रो भाग कसिलो छ भने लम्बिरहने क्लाइमेक्स दृश्यले समेत दर्शकलाई आकर्षित गर्न सफल भएको छ। फिल्म हेरिसकेपछि प्रिमियरमा सहभागी प्रायः को प्रतिक्रिया थियो फिल्म त सोचेभन्दा राम्रो रहेछ।

सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्रँकार र अर्पण थापा पात्रभित्र पसेर जीवित बनेका छन् भने वर्षा राउत, रोहित रुम्बा, संजोग राना, सगुन तण्डुकारजस्ता कलाकारले पनि पात्रलाई न्याय दिलाएका छन्। दीपक बज्राचार्यको संगीतमा तयार भएको आइटम सङलाई कविराज गहतराजको कोरियोग्राफीले आकर्षक तुल्याएको छ भने द्वन्द्व निर्देशनबाट निर्देशनमा आएका निर्देशक सम्राट बस्नेतले द्वन्द्व दृश्यमा आप्mनो कमाल त देखाएकै छन्, समग्र रूपमा फिल्मलाई रोचक बनाउन पनि सफल देखिएका छन्।

औरियन प्रोडक्सन र ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरको ब्यानरमा सेसन अर्याल, जीएम ठकुरी र डिपी भण्डारीको निर्माणमा बनको फिल्ममा सुसन प्रजापतिको डिओपी, अर्जुन जिसीको सम्पादन र समिर मियाको भीएफएक्स रहेको छ। हरि मल्ल ठकुरी फिल्मको कार्यकारी निर्माता रहेका छन्।

लन्डनबाट फर्किएर प्रिमियरमा सहभागी भएका अभिनेता सौगात मल्लले एक्सन रुचाउने दर्शकलाई लाखेले तान्ने बताए। मैले गर्दै आएको रेगुलर रोलभन्दा यसमा भिन्नै रोल रेको छु। दर्शकले मन पराउनुहुनेछ भन्नेमा विश्वस्त छु प्रिमियर शोपश्चात् सौगातले भने।

अभिनेत्री वर्षा राउतले टिम वर्कका कारण फिल्म सोचेभन्दा उत्कृष्ट बनेको बताइन्। सीमित स्रोत साधनको बाबजुद यत्तिको फिल्म पर्दामा ल्याउन कठिन छ। तर, हामीले मेहनत त गरेका थियौँ र आज रिजल्ट राम्रो आएको छु अभिनेता प्रशान्त ताम्राकारले भने। अभिनेता अनुपविक्रम शाहीले नेपाली आँखाले हेरे फिल्मले निराश नबनाउने बताए।

हामीले एक स्टेप माथि रहेर फिल्म बनाउने कोसिस गरेका छौँ। त्यसैले, नेपाली आँखाले फिल्म हेर्दा निराश बनाउँदैन। एक्सन थ्रिलर रुचाउनेका लागि लाखे पूरा प्याकेज होु अभिनेता शाहीको भनाइ थियो। अभिनेता सुशील सिटौलाले चरित्रमा पस्न केही रात अनिदो बसेको सुनाए। अभिनेता आर्यन अधिकारीले सुटिङको समयमा गरिएको दु :खले फिल्म उत्कृष्ट बनेको बताए।
नेपाल समाचारपत्रबाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.