‘महापुरुष’ टिम नेपालगञ्जमा



काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । निर्माण टिमले प्रदर्शनकै दिन देखि हल पुगेर प्रतिक्रिया समेत लिईरहेको छ । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण टिमलाई बधाई दिदै निस्किरहेका छन् ।

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम मोफसलमा निस्किने भएको छ । कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिने भएका छन् ।

आज नेपालगन्जमा दर्शक भेटेर प्रतिक्रिया लिने टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । ‘हामी आज नेपालगन्जका दर्शकहरूसँग भेटघाट गर्नेछौँ । त्यसपछि दाङ, वुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ’, कार्यकारी निर्माता बानियाँले भने । यसअगाडीको आफ्ना सिनेमा टल्क जंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा भन्दा राम्रो ‘वर्ड अफ माउथ’ दर्शक मार्फत पाएको उनले बताए ।

निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउँछन् । ‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थियौं । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुती हो’, निर्देशक भट्टराईले भने ।

सिनेमाले बालकदेखि वृद्धसम्मका दर्शकहरुलाई हलसम्म तान्न सफल भएको छ । कात्तिक १६ मा नेपालगन्जमा मोफसलका दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछ ।

पुर्व निर्धारित कार्यक्रमको कारण संयुक्तराज्य अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले आफ्नो मन भने नेपालमै रहेको बताए । उनले भिडियो संदेश पठाउदै भनेकाछन्, ‘पुर्व निर्धारित कार्यक्रमले गर्दा अमेरिकामा छु । यद्दपि म त्यहिँ नेपालमा रहेर दर्शकसँग प्रतिक्रिया लिन चाहन्थे । तपाइँहरूले दिनुभएको प्रतिक्रियाले हामीलाई झनै हौसला मिलेको छ’, अभिनेता आचार्यले भने ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, सिरू विष्टका अलवा डेव्यु अभिनेता अरुण क्षेत्री र अभिनेत्री अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् । सिनेमामा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ ।

भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्मित सिनेमामा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही सिनेमाबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा डेब्यु गरेछन् । सिनेमाको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।