बालगृह महासंघमा ‘प्रेम गीत ३’ निर्माण टिमको सफलताको खुसी



काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’ टिमले बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर सफलताको खुसी साटेको छ । बालगृहमा रहेका ५५ जना बालबालिकासँग चलचित्रको सफलताको खुसी साटेर मनाइएको हो । “नेपाली सिनेमा लाई संसारभरका दर्शकसम्म पुर्याउन महत्वकांक्षी योजनामा सफल र दर्शकबाट पाएको उच्च सफलताको खुशी मनाउँदा सबै दुःख र संघर्षका दिन भुलेका छौँ,” सन्तोष भन्छन्, “सिनेमा सफल भएसँगै यो सफलताको सेलिब्रेट हामीले यसपटक फरक किसिमले फरक स्थान र व्यक्तिहरुमाँझ खुसी साटेर मनाएका छौँ ।”

बूढानीलकण्ठमा रहेको बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरुसँग खानपिन, देउसीभैलो तथा दिपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुसी साटेको उनले जानकारी दिए । “यही खुसीको अवसरमा हामीले बालगृहमा बस्दै आएका सम्पूर्ण बालबालिकाको एक वर्षसम्म लाग्ने स्कुल फि, लत्ताकपडा, सिरक तथा डसना चाहिने सामग्री प्रदान गर्दै बालबालिकासँग प्रेम गीत–३ टिमले भोज गरेको छ,” सन्तोष भन्छन्, “यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस थिएन । बालगृह महासंघको भवन जिर्ण अवस्थामा थियो । हाम्रो टिमले घरलाई मर्मत सम्भार गरेर रङरोगन गरेर उज्ज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो ।”

स्वर्गिय लेखक निर्देशक दाई क्षेतेन गुरुङलाई यो समय असाध्यै सम्झना गरेका छौं । सायद उहाँको परिकल्पना नभएको भए हामी यो कथामा सिनेमा बनाउने सम्भावना पनि थिएन होला । सिनेमा सफल भएको छ, यसको सम्पुर्ण श्रेय हामीले दर्शक, मिडियाकर्मी, चलचित्रकर्मी र हाम्रा शुभचिन्तकहरुमा समर्पण गर्न चाहान्छौैं ।प्रेस विज्ञप्ती मा भनिएको छ । बालगृहमा निर्माता तथा निर्देशकसमेत रहेका सन्तोषसँगै मुख्य कलाकार प्रदीप खड्का, कृष्टिना गुरुङलगायतको उपस्थिति थियो ।