‘महापुरूषलाई बुवाआमाको आँखाबाट भनिएको छ’ निर्देशक भट्टराई



काठमाडौँ। निर्देशक प्रदीप भट्टराई नेपाली फिल्मको सफल निर्देशक मध्येका एक हुन् । ठुला व्यानर र अभिनेताहरू उनीसँग काम गर्न तयारछन् । टेलीफिल्म हुँदै ‘जात्रा’ मार्फत ठूलो पर्दामा निर्देशकको बनेर उदाएका प्रदीपले सफलतामा ह्याट्रिक गरिसकेकाछन् । जात्रा, शत्रु गते, जात्रै जात्रा निर्देशन गरिसकेका प्रदीपले बक्सअफिसमा व्यावसायिक नम्बरसँगै समीक्षकको रेटीङ पनि बढाउन सफल भइसकेकाछन् ।
आउँदो तिहारमा उनी आफू निर्देशित चौथो फिल्म ‘महापुरूष’ लिएर दर्शकसामू आउदैछन् । दुई पुस्ताको प्रेम देखाएको फिल्ममा उनले एक्लोपनको कथा भनेकाछन् । लेखक र निर्देशकको दायित्वमा रहेका भट्टराईले यसपटक अझैँ परिपक्कता फिल्ममा देखिने बताउछन् । समाजमा विधमान गम्भीर विषयलाई सरलप्रस्तुति मार्फत तोड्ने आट आफूसहित टिमले गरेको उनी बताउछन् । दर्शक र समीक्षकको विश्वास बढ्दै गर्दा उनीमा दायित्व बढेकोछ । फिल्मसँग कुनै साइनो नरहेको प्रदीपको सफलताको कथा फिल्म भन्दा कमछैन ।

सर्टिफिकेट हराएको मान्छे

प्रदीप सर्लाही हरिवनका वासिन्दा हुन् । उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित तथा निर्देशित टेलीसिरियल बाल्यकालमै हेरेका थिए । उनलाई विज्ञापन, पन्ध्र गते, लालपुर्जा मन पर्थ्यो । गाउँमा जाग्राम बस्ने अवस्था आउँदा रातिको समयमा उल्लेखित सिरियलहरू उनले हेरेका थिएँ । ‘४८/४९ सालको समयमा नै उहाँहरूको एक किसिमको प्रभाव परिसकेको थियो । त्यसैले मलाई कला र यसका गतिविधितर्फ अगाडी बढ्न मदत गरे जस्तो लाग्छ’, प्रदीपले भने । गाउँबाट एसएलसीको सर्टिफिकेट लिएर कलेज पढ्न काठमाडौं आएका प्रदीपलाई रेडियो नेपालमा पुग्ने र हेर्ने रहर थियो । उनी संगीत र कलासँग नजिक हुन्चाहन्थे । यद्दपि सिंहदरबारमा प्रवेश पाउन मुस्किल थियो । आफूसँग रहेको साइकलको पछाडी सर्टिफिकेट च्यापेर सहर घुम्ने क्रममा त्यो पनि हरायो ।
‘सर्टिफिकेट हरायो । तर भेट्ने व्यक्ति आर्मी हुनुहुदोरहेछ । उहाँ सिंहदरबार भित्र रहेकाले पहिलोपटक प्रवेशको मौका मिल्यो । रेडियो नेपाल पनि पुगे’, उनले भने । त्यसपछि सिंहदरबार प्रवेश गर्न उनलाई सहज भयो । पुल्चोकबाट हिडेर उनी ठमेलस्थित सरस्वती क्याम्पस पढ्न आउथे । कलाप्रतिको लगावले नै उनलाई त्यो क्याम्पस छनौट गर्न सघाएको रहेछ । ‘सरस्वती नाम भएपछि अरु क्याम्पस हेरेनौ । स्ववियूका विद्यार्थी मार्फत भर्ना हुने भनेर केही शुल्क समेत म सहित साथीले तिरेका थियौँ । यद्दपि दिनहू हुने हुलदङ्गाले पढाई राम्रो हुन् सकेको थिएन’,उनले भने । यसले गर्दा उनले पढाईसँगै काम पनि खोज्न थाले ।

फिल्मसँग सम्बन्ध

निर्देशक भट्टराई पुल्चोकबाट पढ्न सरस्वती क्याम्पस ठमेल पुग्ने गर्थे । सोही क्रममा थापाथलीमा पत्रिका पढ्ने क्रममा गुण सिनेमालाई पाँचौ वार्षिकोत्सवको शुभकामना देखे । उनले त्यहाँ निर्माता तैयव शाहको नम्बर देखे । पढाई राम्रो नभएकोले आफ्नो लगावको क्षेत्र फिल्महरूमा काम गर्ने सोचका निर्माता शाहलाई साथ फोन गरे । ‘मैले कुरा गरेर तत्कालिन समयमा नर्भिक हस्पिटलकै छेउमा रहेको तैयव दाईको अफिसमा भेट्न गए । म उहाँहरूसँग केही काम पाइन्छ की भनेर नजिक हुनथाले’, प्रदीपले भने ।
उनले पहिलोपटक निर्माता शाहकै फिल्म ‘बैमानी’ को छायांकनमा जोडिने मौका पाएँ । उनी छायांकनमा पुगेता पनि त्यहाँ कुनै जिम्मेवारी भने पाएनन् । किनकी अनुभव थिएन । ‘कुनै तोकिएको जिम्मेवारी नहुँदा सबै काम गर्थे । त्यो देखेर फिल्मको क्रिउलाई यसले केहि गर्न सक्छ भन्ने लागिसकेको थियो । त्यहिँ प्रभावले मैले काम पाएँ’, उनले भने । त्यहिँ क्रममा विजय चालिसे मार्फत उनले विजय थापालाई चिने । त्यो चिनजानले उनलाई कान्तिपुर टेलिभिजनको एक सिरियलमा काम गर्ने मौका दियो ।

महसँग काम
उनले काठमाडौंमा चार वर्ष विताईसक्दा पनि मह जोडीसँग काम गर्न पाएका थिएनन् । उनले फाट्टफुट्ट भेट्नु बाहेक संवाद समेत गर्न पाएका थिएनन् । उनलाई रहर नभएको होइन । तर जुरेको थिएन । ‘मुख्य सहायक निर्देशक भएर नारी सिरियलमा काम गर्ने अवसर पाएपछि मेरो चिनजान गौरीशंकर धुजु दाईसँग भयो । गौरीदाईलाई मह जोडीसँग भेट्ने इच्छा सुनाउने गर्थे’, निर्देशक भट्टराईले भने ।
उनको अनुरोध मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसम्म नपुगेको होइन । तर प्रदीपले आफू चिनिने काम गरिसकेका थिएनन् । त्यहिँ कारण हरिवंशले गौरीशंकरको प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन् । प्रदीपले आफ्नो प्रयास विफल भएको ‘टिकेको तीन मन्त्र’ सिरियल बन्ने समयमा थाहा पाएँ । ‘नारीको अन्तिम दिनको छायांकन गोदावरीमा भइरहेको थियो । त्यो सकाएर सबै टिकेको तीन मन्त्रमा जाने तय थियो । त्यो टिमबाट म मात्र भोलिपल्ट रूम फर्किदै थिएँ’, उनले भने । राति अबेरसम्म छायांकन गरेर सम्पूर्ण टोली मह सञ्चारको सिरियल तर्फ लागे । निर्देशक भट्टराई भने गोदावरीमै सिरियलको अफिसमा बसेर भोलिपल्ट चाबहिलस्थित डेरामा फर्किए । उनलाई दिउँसो गौरीशंकरको फोन आयो । महाराजगन्जमा रहेको बटम प्यालेसमा पुग्नुपर्ने संदेश पाएँ । ‘हामीले ६ महिना बढी काम गर्यौं । छायांकन हेर्न आइज भनेर बोलाएको जस्तो लाग्यो । म हतारनगरी विस्तारै त्यता लागे । म पुग्दा सुमिना श्रेष्ठको सिन छायांकन भइरहेको थियो’, निर्देशन भट्टराईले भने ।

उनी त्यहाँ पुगेपछि कमल मैनालीले ‘कन्टिन्युटी सिट’ दिए । त्यसपछि उनलाई आफू पनि सिरियलको एक सदस्य रहेको जानकारी भयो । गौरीशंकरले हरिवंशलाई काम हेर्नु भन्दै जबरजस्ती नै मनाएका रहेछन् । पहिलो दिन नै भएपनि उनी भित्रको निर्देशक शान्त थिएन । उनी चित्त नबुझेको कुरा भन्न चाहन्थे । तर पहिलो दिन नै उनले त्यो आट गर्नसकेनन् । ‘मलाई लागेको कुरा गौरी दाई, कमल दाईलाई भन्थे । विस्तारै त्यो सल्लाहहरू मदन दाई र हरि दाईसम्म पुग्न थाल्यो । ती सल्लाहमा विचार हुन् थालेपछि मैले भन्न थाले । दिन वित्दै जादा मलाई देखाउदै त्यो भाईको सल्लाह राम्रो छ भन्न थाल्नुभयो । लगभग दुई साताको छायांकनको समयमा मैले विश्वास जित्न सफल भए’, उनले भने । त्यहिँ सिरियलको सम्पादन, संगीत सहित अन्य काममा प्रदीपलाई महले विश्वास गर्दै जिम्मा दिएँ । ‘छायांकनकै क्रममा एकदिन च्याट गर्नुपर्ने दृश्य थियो । कसरी खिच्ने भन्ने सल्लाहकै बीच दुई कम्प्युटर मार्फत खिच्न सकिने आइडिया सेयर गरे । त्यो हरिदाईलाई मन परेछ । त्यसपछि मह सञ्चारको नछुट्ने सदस्य बने’ निर्देशक भट्टराईले भने ।

महलाई निर्देशन
प्रदीपको सल्लाह थालिएपछि उनले झनै भन्ने आट बढाए । उनी कारणसहित स्पष्ट थिएँ । त्यहिँ शैली मह जोडीलाई मन परेको थियो । दुई वर्ष पश्चात मुख्य सहायक निर्देशक भएर प्रदीपले महलाई निर्देशन गर्ने मौका पाए । ‘मैले एक्सन कट त पहिला नै भन्थे । तर एकदिन हरिदाईसँग गाडीमा जादै गर्दा मलाई एउटा सिरियल लेख्नुहुन्छ भनेर सोध्नु भयो । पाएको अवसरलाई सदुपयोग गर्दै हुन्छ भने’, उनले भने । त्यहिँ सिरियल ‘लेफ्ट राइट लेफ्ट’ मार्फत प्रदीपले लेखक र मुख्य सहायक निर्देशक भएर काम गर्ने अवसर पाए ।
मह जोडी पर्दामा हुँदा दृश्य भयो की भएन भनेर निर्णय लिन उनलाई गाह्रो हुन्थ्यो । ‘उहाँहरूको दृश्य खिच्दा गौरीशंकर दाईलाई हेरेर के छ भनेर सोध्नुहुन्थ्यो । पछाडी त्यो विश्वास म तर्फ पनि सर्दै गयो । विश्वाससँगै जिम्मेवारी पनि बढ्यो’, निर्देशक भट्टराई भन्छन् । ‘रि–टेक’ लिउँ भन्दा प्रदीपलाई गाह्रो हुन्थ्यो । कारण खुलाउनु पर्ने साथै लिजेण्डलाई यो भएन भनेर भन्न गाह्रो हुने । यो समस्या प्रदीपलाई ‘आउटडोर’ मा धेरै हुन्थ्यो । ‘मदनदाई र हरिदाईले कहिले गाह्रो मान्नु भएन । हामीलाई पर्दामा देखाउन भनेको हो भनेर एकै दृश्यलाई पनि कयौंपटक गर्न तयार हुने गर्नुहुन्थ्यो’, प्रदीपले भने ।
मह सञ्चार हुँदै फिल्म निर्देशक बनेका प्रदीपको प्रगतिले हरिवंश खुसीछन् । ‘हामीबाट सिक्दै करिअर सुरू गरेर हामीलाई नै सिकाउँदा गर्व लाग्छ । उनले गरेको मेहनतले यो स्थान दिएको हो’,अभिनेता आचार्यले भने । उनले निर्देशक भट्टराईको बारेमा अन्य फिल्मकर्मी मार्फत सकारात्मक कुरासँगै सफलता सुन्ने गरेका छन् । अभिनेता आचार्यलाई प्रदीपको स्क्रिप्ट प्रतिको गम्भीरता मन पर्छ । ‘उनले छनौट गर्ने विषय र त्यसलाई पर्दामा ल्याउँदा तयार पार्ने स्क्रिप्टले उनको ग्रोथलाई देखाउछ । उनले गरिरहेको कामलाई इमान्दार भएर गर्छन् । यसैले उनलाई सफल बनाइरहेको छ’, अभिनेता आचार्यले भने ।

प्रदीपले टेलीफिल्म हुँदै फिल्ममा निर्देशन गर्दा अभिनेता मदनकृष्ण श्रेष्ठ खुसी छन् । ‘प्रदीपले बनाउने फिल्मले दर्शक मन जितिरहेको छ । उनले यो स्थानसम्म आउन गरेको मेहनतले अझैँ सफलता दिलाउनेमा विश्वस्त छु । उसले दिने भूमिका मान्छेलाई राम्रोसँग बुझेर मात्र दिन्छ’, अभिनेता श्रेष्ठले भने । उनले प्रदीपले मेहनत गरेसम्म सफल भईरहने बताए ।
महको प्रेरणा

मदनदाई र हरिदाईबाट जीवन सिकेको प्रदीप बताउछन् । महलाई आफ्नो स्कुल मान्ने प्रदीपले सिकेको जीवन र सरलतालाई अगाडी बढाई रहन चाहन्छन् । ‘उहाँको स्कुलबाट निस्केको विद्यार्थी हुँ । मैले केही विराए भने उहाँहरू असर पर्ने होकी भन्ने डर पनि लाग्छ’, उनले भने । उनले गर्ने काम हल भित्र मात्र नभई बाहिरसम्म पनि मस्तिस्कमा अओस् भन्ने चाहन्छन् । ‘मैले रेकर्डको लागि काम गरेको छैन । इमान्दार भएर फिल्म बनाउने कोसिश गरिरहेको छ । परिपक्क कामसँगै कथामा देखियोस् भन्ने लाग्छ’, उनले भने । महापुरूषसम्म आइपुग्दा पहिलो फिल्म नै यो किन गरिन् भन्ने पनि प्रदीपलाई लाग्ने गरेको छ । किनकी फिल्मले मनोरंजनसँगै प्रभाव पनि छाड्न सक्ने, समाजलाई फरक पक्ष देखाउन सक्ने उनी बताउछन् । फिल्म जत्तिको बुझाइ शिक्षा वा अन्य माध्यमबाट पाउन नसकिने उनले बुझेका छन् ।

अभिभावकको आँखा महापुरूष

महापुरूष’ भन्दा अगाडी जात्राकै तेस्रो शृंखला ल्याउन प्रदीपलाई धेरैले सुझाएका थिएँ । किनकी त्यो ‘ब्ल्यांक चेक’ भन्दा कम थिएन् । बक्स अफिसमा सफलता डिजिट छाडेर नयाँ नाम र कथालाई उनले ल्याउदैछन् । किनकी उनलाई आफ्नो काममा अझैँ परिपक्कता देखाउनु छ । आफूलाई विश्वास गरेर हलसम्म आउने दर्शकलाई उनीहरूकै कथा देखाउनु छ । ‘यो एक्लोपनको कथा हो । हामीले हाम्रो आखाँबाट अभिभावकलाई हेर्छौं । तर उनीहरूको आँखाबाट संसार हेर्ने, इच्छा बुझ्ने काम कहिले गरेनौँ । त्यहिँ झक्झकाउने गरी गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरेका छौँ’, उनले भने ।
फिल्ममा मह जोडीसँगै गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । यहिँ फिल्ममार्फत अरुण क्षेत्री र अन्जना बराईली डेब्यु गर्दैछन् । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन, कपिल पराजुलीको कलर करेक्सन, साउण्ड मिक्सीङ अमित श्रेष्ठ, पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।