प्रेम र बिछोडले भरिएको ‘मीलन’ ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।

कार्यक्रममा अभिनेता सलोनले आफूले काम गरेका राम्रा र आफूलाई निकै मन परेको चलचित्रहरु मध्ये ‘मीलन’ पनि पर्ने बताए । उनले नेपालमा कोभिड १९ को महामारी कम हुँन थालेपछि डरका बिच नै काम थालनी गरेको भन्दै अनुभव साटे । साथै अन्य चलचित्र जसरी नै यस चलचित्रलाई पनि सबैले माया गरिदिन आग्रह गरे ।

नव अभिनेता कुशल शाह ठकुरीले आफूलाई विश्वास गरेर चलचित्रमा काम गर्ने अवसर प्रदान गरेकोमा निर्माता प्रविन थापालाई धन्यवाद दिए । उनले आफूले ठुलो पर्दाका लागी पहिलो अनुभव भएको र धेरै कुरा सिक्ने मौका पाएको बताए । साथै नवअभिनेत्री शिल्पा थापाले पनि चलचित्र ‘मीलन’बाट धेरै कुरा सिक्ने मौका पाएको बताइन् । अर्का मुख्य कलाकार शिशिर बाङ्ग्देलले चलचित्रको अनुभव साटे । चलचित्रमा धेरै नयाँ कलाकार भएपनि चलचित्र निकै राम्रो बनेको उनले बताए ।

चलचित्रका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । निर्देशक राईले यसअघिका चलचित्र जस्तै ‘मीलन’लाई पनि सबैले माया गरिदिने विश्वास ब्यक्त गरे । साथै केहि समय अघि केहि बिशेष ब्यक्तिहरुलाई चलचित्र देखाएको र राम्रो प्रतिक्रिया आएको भन्दै उत्साह बढेको बताए । चलचित्रका निर्माता प्रविन थापाले बिशेष गरी युवापुस्ताका लागी मन पर्ने चलचित्र निर्माण गरेको जानकारी दिए । उनले चलचित्र निर्माणमा आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् ।

चलचित्रको निर्माण टिमले यसअघि पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । चलचित्रमा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्र राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।