थ्रिलर–सस्पेन्स फिल्ममा ‘एन्टागोनिस्ट’ भएर पनि अभिनय गर्न मन छ : धिरज मगर


                       ‘नम्रता श्रेष्ठ मेरो ‘नम्बर वान फेवरेट’ अभिनेत्री’


काठमाडौं । अभिनेता धिरज मगरको अभिनयका हिसाबले तेस्रो, प्रदर्शनका हिसाबले दोस्रो फिल्म हो, ‘बाबरी’ । ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका धिरज अभिनित ‘बाबरी’ दशैंको अवसर पारेर प्रदर्शनमा आउँदैछ, असोज १४ गतेदेखि । प्रदर्शन मिति नजिकिँदा प्रमोशनको दौडधुपमा रहेका धिरज फिल्मलाई लिएर निकै आशावादी पनि छन् ।

‘टिजर, ट्रेलर, गीतहरूलाई लिएर आएको रेस्पोन्स हेर्दा खुशी लागिरहेको छ’ धिरज सेलिब्रेटी नेपालसँग भन्छन् –‘दशैंको समयमा फिल्म आउँदैछ, फेस्टिभ मूडमा स–परिवार हेर्ने फिल्म बनेको छ । टिजर, ट्रेलर, गीतहरूलाई जस्तै फिल्मलाई पनि दर्शकहरूले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’ फिल्ममा धिरजले डेब्यू फिल्मभन्दा विल्कुलै फरक भूमिका निर्वाह गरेका छन् । ‘सानो राजासाहेब’को क्यारेक्टर निर्वाह गरेका धिरज त्यसबारे सुनाउँछन् ‘त्यो गाउँको ठकुरी क्यारेक्टर हो । क्यारेक्टर आफैमा एकदमै रिसाहा छ । गाउँको सबैले मान्ने, सबलाई थर्काउँदै हिँड्ने खालको छ । उसको भ्वाइस अलिकति लाउड, अलिकति बोल्ड, अलिकति डोमिनेटिङ टाइपको छ । उसमा अलिकति मै हुँ भन्ने घमण्ड पनि छ ।’ यो क्यारेक्टर रियल आफूभन्दा ठिक उल्टो रहेको धिरज बताउँछन् । सोही कारण क्यारेक्टर निर्वाह गर्न निकै चुनौती रहेको पनि धिरज स्मरण गर्छन् ।

पहिलो फिल्मदेखि ‘बाबरी’सम्म आईपुग्दा अभिनयलाई लिएर आफ्नो बुझाई पनि केही बदलिएको उनी बताउँछन् । फिल्ममा फरक–फरक क्यारेक्टर ‘एक्स्प्लोर’ गर्दा त्यो अनुभवले केही कुराहरु सिकाएको उनको भनाई छ । धिरजको फेवरेट जनरा थ्रिलर, सस्पेन्स हो । उनी भन्छन् ‘जसरी हामी कहाँ हिरो भनिन्छ नि ! मलाई यस्ता फिल्ममा भिलेन (एन्टागोनिस्ट) भएर पनि अभिनय गर्न मन छ । किनकि आफूले आफूलाई एउटा कलाकारको रूपले ‘एक्स्प्लोर’ गर्ने त हो नि ! ‘एस्पेरिमेन्ट’ गर्ने हो । कुन कुरा मलाई कम्फटेबल हुन्छ ? फरक–फरक क्यारेक्टरबाट त कुराहरू सिक्ने हो । एउटा कलाकारको हिसाबले त्यो कुरा लोभ लाग्दो रहेछ । सबै खालको क्यारेक्टर गरौं भन्ने लाग्छ ।’

दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की धिरजलाई मनपर्ने अभिनेताहरु हुन् । अभिनेत्रीमा भने उनलाई सबैभन्दा बढी नम्रता श्रेष्ठ मनपर्छ । ‘अभिनेत्रीमा मेरो नम्बर वान फेवरेट नम्रता श्रेष्ठ हो । उहाँसँग स्क्रिन शेयर गर्ने मन छ तर त्यो अवसर जुरेको छैन । आशा छ, कुनै दिन अवश्य जुर्नेछ’ मनपर्ने अभिनेत्रीबारे धिरज भन्छन् ।

धिरजको अभिनयका हिसाबले दोस्रो फिल्म ‘आई एम ट्वान्टी वान’ पनि प्रदर्शनका लागि तयार छ । अन्य दुई फिल्म पनि धिरजले साइन गरिसकेका छन् । जसमध्ये एउटा निर्देशक दीपेन्द्र लामासँगको प्रोजेक्ट हो भने अर्को ‘बाबरी’कै टीमबाट नयाँ फिल्मको पनि घोषणा भइसकेको छ । ‘बाबरी’मा धिरजसँगै अदिति बुढाथोकी र धिरज नाड्कर शीर्ष भूमिकामा छन् । ‘कृ’ डेब्यू अभिनेत्री अदितिको पनि ‘बाबरी’ दोस्रो फिल्म हो भने अर्का अभिनेता धिरज नाड्करको भने पहिलो फिल्म हो ।