सफलताका साथ दोस्रो सातामा ‘झिँगेदाउ’



काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वक दोस्रो साताको यात्रा तय गरेको छ । शुक्रबार नेपाली बक्सअफिसमा चार ओटा फ्रेस सिनेमा रिलिज भएका छन् । तर ‘झिँगेदाउ’को ट्रेन्ड दोस्रो स्थानमा छ । बलिउडको प्रतिक्षित ‘ब्रमास्त्र’ दवदवाका बीच ‘झिँगेदाउ’ले बलियो उपस्थिति जनाएको छ ।

दोस्रो शुक्रबारपनि सिनेमाका दर्शक घटेका छैनन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण दोस्रो शुक्रबारपनि सिनेमाले हाउसफुलको व्यापार गरिरहेको छ । ‘ब्रमास्त्र’को खराब समिक्षाका कारण ‘झिँगेदाउ’लाई चिट्टा परेको छ । वीकडेजमा फेरि पनि ‘झिँगेदाउ’ले आफुलाई बलियो रुपमा प्रस्तुत गर्ने सम्भावना देखिएका छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले सिनेमाले पहिलो साता घरेलु बक्सअफिसबाट लगानी उठाएर नाफाको बाटोमा हिँडेको जानकारी दिएका छन् । सिनेमाको बक्सअफिस अंक भने सार्वजनिक भएको छैन । पारिवारिक घर झमेलाको कथा भन्ने सिनेमालाई दर्शकले उत्कृष्ट भनिरहेका छन् ।

प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषालल गायतका कलाकारहरुको अभिनय छ । भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो । सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।