कमल खनालको मार्मिक गीति कहानी ‘बाकस’ सार्वजनिक(भिडियो)



काठमाडौं । गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीति कहानी सार्वजनिक गरेका हुन् । खनाल स्वयंमको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कथा भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरुको हो । ‘खाडी मुलुक पुग्नेहरुको लहरमा महिलाहरुको संख्या पनि ठूलो छ । आफ्नो साना–साना सन्तानहरुलाई नानापापा ल्याईदिने बाचा गरेर आकाशमा उडेकी आमा बाकसमा फर्किँदाको पीडा गीतमा समेटेका छौं’ यस गीतका गीतकार एवं संगीतकार खनालले भने ।

विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यहरु समेत गीतको भिडियोमा समेटिएको छ । भिडियो सम्पादनमा कहलिएका सम्पादक मिराज अर्यालले ‘बाकस’ गीतको भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्धय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गरेका छन् । दिनेश विष्टको छायाँकन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गरेका हुन् ।

गीतका प्रस्तुतकर्ता कमल खनाल अमेरिकामा रहेपछि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन् । यसअघि उनको स्वर रहेका ‘डाली पलायो’, ‘छुट्टिने दिन आयो’, ‘न्याउली रुदा यो मन रुन्छ नी’, ‘भेटौंला अवश्य’ लगायतका गीतहरु रुचाईएका छन् । सार्वजनिक ‘बाकस’ गीतलाई पनि स्रोता दर्शकले रुचाउने खनालको अपेक्षा छ । ‘एकदमै राम्रो प्रतिक्रियाअरु आएका छन् । जतिले हेर्नुभएको छ सबैले मन पराउनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे खनालले भने । ‘कमल खनाल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।