नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्न जरुरी : सञ्चार तथा सूचना प्रविधिमन्त्री



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्नुपर्ने बताए । नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारण सभामा उनले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताए ।

त्यस अवसरमा मन्त्री कार्कीले निर्माता सङ्घमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाली चलचित्र कला, संस्कृति र भूगोललाई समेटेर बनाउँदा विश्व बजारमा राम्रो स्थान पाउनसक्ने उहाँले विश्वास व्यक्त गरे । निर्माता र कलाकारको हकहितको सुरक्षा गर्ने तथा विश्वसामु नेपाली चलचित्रलाई चिनाउनुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।

१६ औँ वार्षिक साधारण सभामा नेपाल चलचित्र निर्माता संघको नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ। निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष आकाश अधिकारीले कार्यभार हस्तान्तरण गरेका छन्। अध्यक्षमा नवल खड्का दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।

बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।

सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् । कार्यसमिति नै निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ। नयाँ कार्यसमितिको शनिबार हुने १६ औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने भएको छ । नयाँ कार्यसमिति सदस्यहरुको सपथग्रहण शनिबार नै हुनेछ ।
तस्वीर- ज्ञानु राई