हिन्दि चलचित्र ‘गडफादर’ को छायाँकन जोमसोममा



काठमाडौँ। हिमाली क्षेत्रको सुन्दर दृश्य कैद गर्ने उदेश्यले हिन्दि चलचित्र ‘गडफादर’को छायाँकन जोमसोम आसपासमा गरिने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुन् ।

चलचित्र ‘गडफादर’मा दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको मुख्य भुमिका रहने छ भने सलमान खानले उनको भाईको भूमिकामा अभिनय गर्ने छन् र नायिका नयनताराको पनि अभिनय रहने छ । दुवै अभिनेता आगामी सेप्टेम्बरमा फिल्म ‘गडफादर’को सुटिङका लागी नेपाल आउने निर्माणपक्षले जानकारी गराएका छन् ।

चलचित्रको निर्माण टिमको एक टोली नेपाल आएर उनीहरूले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेका छन् । अवलोकन टिममा भारतीय र दक्षिण भारतीय चलचित्र उद्योगमा संलग्न राजेन्द्र घिमिरेको समेत सहकार्य रहेको थियो । ‘गडफादर’मा लाइन प्रड्युसरका रूपमा संलग्न घिमिरेका अनुसार चिरञ्जीवी र सलमान दुवै नेपाल आउने छन् । उनका अनुसार निर्माण टोलीले जोमसोम एयरपोर्ट क्षेत्र मन पराएपछि नेपालमा सुटिङ हुने पक्का भएको हो । केही दिन अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’को टिजर सार्वजनिक भएको थियो ।