‘प्रेमगीत ३’ टिमलाई विकास बोर्डको सम्मान



काठमाडौं । चलचित्र विकास बोर्डले नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’लाई सम्मान गरेको छ । आईतबार विकास बोर्डमा एक कार्यक्रमकाबीच बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’को टिमलाई सम्मान गरेको हो । चलचित्रको निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरिएको छ । अध्यक्ष केसीले चलचित्रको टिमलाई शुभकामना दिँदै सम्मानस्वरुप गौतम बुद्धको मुर्ति प्रदान गरे ।

नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन ‘प्रेमगीत ३’को टिमले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दै अध्यक्ष केसीले आफ्नो व्यक्तिगत र बोर्डको तर्फबाट चलचित्रलाई हरेक प्रकारको साथ र सहयोग गर्न तयार रहेको प्रतिवद्धता उक्त कार्यक्रममा जनाए ।

भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको ‘प्रेमगीत ३’ले नेपाली कला, संस्कृति र भाषालाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्नेमा बोर्ड अध्यक्ष केसी विश्वस्त छन् । नेपालको पर्यटन प्रवद्र्धनमा पनि चलचित्रले धेरै सघाउने उनको विश्वास छ । सम्मान ग्रहण गरेपछि निर्माता एवं निर्देशक सन्तोष सेनले बोर्डको प्रोत्साहनले ठूलो हौसला मिलेको बताए । उनले नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन सिंगो चलचित्र क्षेत्र एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सेनसँगै कलाकारहरु सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउतलगायत उपस्थित थिए । तर, मुख्य अभिनेता प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङ भने उपस्थित थिएनन् । चलचित्र आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ ।