प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, थुप्रै सेलिब्रेटीले हेरे फिल्म [तस्वीरहरु]



काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’को बुधबार बेलुका राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजको २ वटा पर्दामा गरिएको प्रिमियरमा चलचित्रकर्मी एवं सञ्चारकर्मीहरुको बाक्लो भीड थियो । प्रिमियरमा चलचित्र हेर्न पुगेका अधिकांश सेलिब्रेटीले जुम्लाको जनजीवनमा आधारित ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया दिए ।

शुक्रबारबाटै प्रदर्शनमा आउन लागेको चलचित्र ‘राधा’को टिम नै ‘प्रकाश’ हेर्न पुगेको थियो । यता, प्रदीपको अर्को चलचित्र ‘प्रेमगीत ३’का निर्माता एवं कलाकारहरु समेत ‘प्रकाश’को प्रिमियरमा पुगेका थिए ।

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, विनय श्रेष्ठ, जीवन भट्टराई, अभिनेत्री नम्रता श्रेष्ठ, लक्ष्मी वर्देवा, रिश्ता बस्नेत लगायतका थुप्रैले कलाकारहरुले चलचित्र हेरेका छन् । सांगीतिक क्षेत्रका कलाकारहरु समेत ‘प्रकाश’ हेर्न बिग मुभिज पुगेका थिए । अधिकांशले चलचित्रको कथावस्तु, कलाकारहरुको अभिनय, निर्देशकीय क्षमतासँगै छायाँकन एवं सम्पूर्ण पक्षको प्रशंसा गरे ।

जुम्लाको विपन्न युवकले सरकारी शिक्षक बन्न गरेको संघर्षलाई चलचित्रले चित्रण गरेको छ । दिनेश राउत निर्देशित चलचित्रमा प्रदीप खड्का, दीया मास्के र रेणु योगी शीर्ष भूमिकामा छन् । विकास सुवेदीको लेखन रहेको चलचित्रको निर्माता महेन्द्र अधिकारी हुन् । चलचित्रलाई राजेश श्रेष्ठले छायाँकन, जीवन थापाले सम्पादन गरेका हुन् । चलचित्र हेरेका सेलेब्रिटीहरुले सामाजिक सञ्जालमा समेत ‘प्रकाश’को तारिफ गर्दै शुभकामना दिएका छन् ।