‘माइकल अधिकारी’ को ‘फापरको रोटी’ सार्वजनिक



काठमाडौँ। भदौ ३ मा रिलिज हुने चलचित्र ‘माइकल अधिकारी’को अर्को गीत सार्वजनिक गरिएको छ। रञ्‍जित रौनियारले निर्देशन गरेको चलचित्रले पूर्णत सेरोगेसी (भाडाको कोख) को कथा भन्छ । यो कन्टेन्ट नेपाली चलचित्रको लागि नयाँ हो । यसै बीच चलचित्रको ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता यसराज गराच र अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएका छन् ।

दयाराम पाण्डेको शब्द सिर्जना रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत छ । गीतमा शम्भुजित सहित रवि ओड र टिका प्रसाईंको स्वर रहेको छ। डान्सिङ नम्बरको गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मापनि फिचर्ड छन् ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित चलचित्रमा लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ । उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् ।