कर्णालीलाई चिनाउनका लागि ‘प्रकाश’को छायाँकन जुम्लामा : प्रदीप



काठमाडौँ। साउन महिना अभिनेता प्रदीप खड्काको लागि राम्रो रह्यो । ‘प्रेमगीत ३’को भारत रिलिज र ‘प्रकाश’मा निर्वाह गरेको चरित्रले प्रदीपलाई चर्चाको शिखरमा पुर्यायो । लकडाउनपछि मिडियामा नझुल्किएका प्रदीप साउन यता भने लाइमलाइटमा छन् । ‘प्रेमगीत ३’को चर्चाले भदौ १० मा रिलिज हुने ‘प्रकाश’लाई छायाँमा पारेपनि प्रदीप ‘प्रकाश’ कै लागि खटिरहेका छन् । प्रचारका लागि पश्चिम नेपालको ठुलो शहर नेपालगंज पुगेका प्रदीपले ‘प्रकाश’को स्क्रिप्ट उत्कृष्ट रहेको बताए । ‘प्रकाश’ यता उनले यस लेभलको स्क्रिप्ट पढ्न नपाएको दावी गरे ।

‘प्रकाशपछि मैले कुनै सिनेमा गरेको छैन । ‘प्रेमगीत ३’ भन्दा राम्रो प्रोडक्सन र ‘प्रकाश’ भन्दा राम्रो सोच नपाएका कारण नै काम नगरेको हुँ । सिनेमाको छायांकनयता मैले सुनेका स्क्रिप्टमध्ये सबैभन्दा बलियो ‘प्रकाश’को लाग्छ ।’ यस्तै कर्णालीलाई चिनाउनका लागि जुम्ला जिल्ला छायांकनको लागि छनोट गरिएको पनि बताए ।

अभिनेत्री दीया मास्केले पनि ‘प्रकाश’मा आफुले निर्वाह गरेको ‘सीता’को भूमिका शक्तिशाली रहेको बताइन । ‘सीता गाउँको साधारण महिला हो । एकल महिला हो । श्रीमान् र छोराको सपनालाई नै उसले आफ्नो सपना बनाएको छ । दीया मास्के भएर सीतालाई हेर्दा ऊ सशक्त महिला हो । करिअरको यो विन्दूमा यति बलियो चरित्रमा अभिनय गर्न पाउँदा खुशी छु,’ दीयाले भनिन् ।

दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’मा दीयाले प्रदीपकी आमाको भूमिका निर्वाह गरेकी छन् । ‘कागबेनी’ डेब्यु अभिनेत्री मास्केले निर्वाह गरेको भूमिकाले पनि दर्शक ध्यान केन्द्रित गरेको छ । उनि हुबहु विकट गाउँकी महिला देखिएकी छन् ।

एक युवाको सरकारी शिक्षक बन्ने संघर्ष बोल्ने सिनेमामा प्रदीप र दीयाका अलावा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिकास सुबेदीको लेखन रहेको सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।