दुवै हात नभएका सुदर्शनले साइन गरे ‘एक्स ९’



काठमाडौँ। २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गरेका थिए । तर, डेब्यू चलचित्र सफल भए पनि उनले अभिनयलाई भने निरन्तरता दिन सकेनन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका उनले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै फिल्म ‘एक्स ९’ साइन गरेका छन् ।

केही दिनदेखि चलचित्रको छायांकन प्रवन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका हुन् । चलचित्रको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनेछन् । निर्देशक भट्टले चलचित्रमा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताएका छन् ।

८ वर्षपछि चलचित्रमा कमब्याक गर्न लागेका सुदर्शनले राम्रो टिम र बलियो चरित्र पाएकाले आफू ‘एक्स ९’मा काम गर्न राजी भएको जानकारी दिए । उनले भने, ‘म फिल्मबाट कहिल्यै पनि टाढा थिइनँ । विभिन्न कारणले समय दिन नपाएको मात्र हुँ । फेरि फिल्ममा काम गर्दा राम्रो टिम र बलियो चरित्र हुनुपर्छ भन्ने मान्यतामा अडिग थिएँ । यी सबै कुरा ‘एक्स ९’मा पाएँ,’ क्यानडाबाट उनले भने ।

एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । क्यानडमा मोटिभेसनल स्पिकरको रुपमा परिचित सुदर्शनले फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा राम्रो सम्भावना देखाएका थिए ।

‘एक्स ९’लाई नेटफ्लिक्समा रिलिज गर्न निर्देशक भट्टले प्रयास गरिरहेका छन् । चलचित्रमा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।