केकी र आँचलको ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक



काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रको आज राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अत्यन्तै मिल्ने दुई दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । ३ मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी, आँचल, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायत चित्रित छन् । फिल्ममा केकी र आँचल जेठानी देवरानी र मुकुन र कुशल दाजुभाइको भूमिकामा छन् ।

भीमनिधि तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको ‘झिँगेदाउ’को पटकथा एवं संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा छन् ।

चलचित्रमा संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । बिष्णु कल्पितको छायांकन रहेको चलचित्रको सम्पादनको जिम्मेवारी भने मित्र डि. गुरुङले सम्हालेका छन् ।

‘झिँगेदाउ’मार्फत अभिनेत्री केकी र आँचलले पहिलोपटक एकसाथ पर्दा शेयर गरेका हुन् । उनीहरुलाई चलचित्रमा जेठानी–देउरानीको भूमिकामा देख्न पाइनेछ ।