पुस्कल शर्माले ल्याए मार्मिक गीत ‘श्रीमान श्रीमती’



काठमाडौं – लोकप्रिय गायक पुस्कल शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका उनले ‘श्रीमान श्रीमती’ शीर्षकको तीज गीत ‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा पुस्कल र गायिका शान्तीश्री परियारको स्वर छ । पुस्कलकै शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ ।

गीतको अडियो मार्मिक छ । त्यो भन्दा भिडियोलाई अझ मार्मिक बनाईएको छ । पुस्कल स्वयंमकै कथा एवं निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा पुस्कल आफ्नै श्रीमती सवि शर्मासँग प्रस्तुत छन् । सविले यसअघि ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा छोटो भूमिकामा अभिनय गरेकी थिइन् भने ‘तिम्रो थर मेरो थर’मा पुस्कलसँगै मुख्य मोडलका रुपमा अभिनय गरेकी थिइन् । टिकटकमा समेत निकै हिट भएको ‘तिम्रो थर मेरो थर’ले यतिबेला युट्युबमा ६१ लाख बढी भ्युज पाईसकेको छ ।

‘श्रीमान श्रीमती’ गीतमा कमला गैरे र युवानी शर्मा लगायतको पनि अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो दीपक विष्टको सम्पादनपछि युट्युबमा सार्वजनिक गरिएको हो । पुस्कल लोकदोहोरीमा निकै राम्रो ‘फ्यान फ्लोइङ’ भएका गायक एवं सर्जक हुन् । मिडियामा कमै आउन रुचाउने उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । ‘श्रीमान श्रीमती’ बोलको गीतले पनि आफ्ना अघिल्ला गीतले जस्तै स्रोता दर्शकको मन जित्ने विश्वास पुस्कलमा छ ।