‘पीपल डाँडे साइँली’ रिलिज गरे अमेरिका फर्किँए प्रेमराजा, अझै केही गीतहरु आउँदै



काठमाडौं । लोक गीतका हस्ति प्रेमराजा महत दुई दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

यद्यपी, ‘सिमसिमे पानीमा’, ‘पानको पात’, ‘बाँझो खेतमा’ जस्ता थुपै्रै हिट गीत दिएका उनको नेपाल आउजाउ भने बाक्लै हुने गरेको छ । नेपाल आएको समयमा गीतसंगीतमा पनि उनी उत्तिकै सक्रिय हुने गरेका छन् । ७ महिना अगाडि नेपाल आगमनको क्रममा उनले ‘बन्दिपुरैमा’बोलको गीत सार्वजनिक गरेर फर्किए । शान्तीश्री परियारसँगको स्वर रहेको गीतको भिडियोमा महत स्वयंमले अभिनय गरेका थिए । जून गीतको भिडियोले अहिले युट्युबमा ८६ लाख भ्युज कटाईसकेको छ ।

उनै प्रेमराजा केही सातादेखि नेपालमा छन् । र, हिजो (बुधबार) बेलुका अमेरिका फर्किएका छन् । अमेरिका फर्किनुअघि बुधबार दिउँसो राजधानीमा एक कार्यक्रमकाबीच उनको स्वर र अभिनय रहेको ‘पीपल डाँडे साइँली’बोलको गीत सार्वजनिक गरियो । उक्त गीतमा महत र अस्मिता परियारले स्वर दिएका छन् । भिडियोमा गायक महतले निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलासँग जोडी बाँधेका छन् ।

कार्यक्रमपश्चात छोटो कुराकानीमा गायक महतले अहिले आफू भिडियोमा अभिनय गर्नुको कारणबारे खुुलाए । ‘पहिले गीत सुनिन्थ्यो । अहिले गीत हेर्नेमा परिणत भयो’ महतले भने, ‘त्यसका लागि त आफू भिडियोमा आउनुपर्यो । सोही कारण अभिनय गरेको हुँ ।’ यद्यपी, आफू प्रसिद्ध हुनका लागि नभई समयको मागसँगै सुन्ने गीतलाई हेर्नका लागि मात्रै अभिनय गरेको बताए ।

उनले यसपटकको नेपाल आगमनमा अन्य केही गीतहरु समेत गाएको बताए । ‘अन्जु पन्तदेखि शान्तीश्री परियार लगायतसँग गीत गाएको छु’ महतले भने, ‘क्रमश ति गीतहरु सार्वजनिक हुनेछन् ।’ महतले यसअघि नेपाल आउँदा तयार पारेको ‘बन्दिपुरैमा’मा शान्तीश्रीसँग सहकार्य गरेका थिए । उनीसँग यसपटक हुम्ला, जुम्ला र रोल्पा, डोल्पाको ठेट भाकामा आधारित रहेर लोकगीत रेकर्ड गराएको उनले बताए । अञ्जु पन्तसँग भने लोकगीतमा आधारित थोरै आधुनिक लय मिसिएको गीत गाएको महतले बताए ।

‘असोजमा फेरी नेपाल आउनेछु । त्यतिञ्जेलसम्मलाई पुग्ने गीत रेकर्ड गराएको छु’ महतले भने, ‘त्यतिबेला आएर फेरी अन्य गीतहरु ल्याउनेछु ।’