राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न ‘काँडेतार’: नवल खड्का



काठमाडौं । सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं अभिनेता नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै चलचित्रको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए ।

‘चलचित्र मार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले चलचित्र मार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भने ।

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले चलचित्रले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताको प्रवद्र्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको अध्यक्ष पोखरेलले बताए । सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने पनि उनले बताए ।

अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ,’ उनले भनिन्, ‘राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा अघि बढ्न पनि नागरिकलाई सचेत तुल्याउनुपर्ने भन्दै उनले एकजुट भए मात्र यस्तो अभियान सम्भव हुने बताइन् ।

अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् । बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्ने उनले बताइन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताए । ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो । सीमाको मुद्दामा पनि सबै जना एकजुट हुनुपर्छ,’ उनले भने, ‘यी मुद्दामा नेविसंघ सहकार्य गर्न तयार छ ।’
अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सत्यकला राईको कार्यकारी निर्माण रहेको फिल्ममा नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा,राेमियन लिम्बू लगायतको मुख्य भूमिका छ । फिल्मलाई चाँडै प्रदर्शनको तयारी छ । फिल्मले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई उठाएको छ ।

खड्काले यसअघि मायाबसेछ,क्रान्ति, आवाज, दशगजा र भीमदत्त जस्ता फिल्म निर्माण गरी सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.