श्रीमानबाहेक अरुसँग अभिनय गर्न मान्दिनन् भन्नेलाई लक्ष्मीको प्रष्टिकरण



काठमाडौं । कुशल अभिनयका कारण चिनिएकी अभिनेत्री हुन् लक्ष्मी बर्देवा । रंगमञ्च, चलचित्र अनि म्युजिक भिडियोमा उत्तिकै सक्रिय छिन् उनी । हिजोआजको उनको ज्यादा व्यस्तता भने म्युजिक भिडियोमा छ । उनी अभिनित एकपछि अर्को म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् ।

लक्ष्मी अभिनित ‘परानै दिन्छु’, ‘जेल पनि सहुँला’, ‘भन साइँला’ जस्ता थुप्रै म्युजिक भिडियोलाई दर्शकले निकै रुचाएका छन् । म्युजिक भिडियोको निर्देशन समेत गर्दै आएकी लक्ष्मी धेरैजसो म्युजिक भिडियोमा भने आफ्नो श्रीमान अभिनेता जीवन भट्टराईसँग देखिँदै आएकी छिन् । त्यसैले पनि हुनसक्छ, लक्ष्मी आफ्नो श्रीमान अभिनेता जीवनसंग बाहेक अरुसंग अभिनय गर्न मान्दैन रे ! भन्ने हल्लाहरु सांगीतिक बजारमा सुन्ने गरिन्छ ।

अभिनेत्री लक्ष्मी स्वयंमले पनि यस्तो हल्ला सुन्ने गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै यसबारे प्रष्टिकरण समेत दिएकी छिन् । ‘म कलाकार भएको नाताले मैले आजसम्म यस्तो मनस्थिति कहिल्यै बोकेको छैन । त्यो मेरो धर्म बिपरित हो भन्ने मेरो धारणा छ’ लक्ष्मी लेख्छिन् ‘आजसम्म म र कलाकार जीवन भट्टराईले जति पनि सहकार्य गरेको छौ त्यो नितान्त निर्माताको रोजाइले गर्दा हो ।’ उनले कसैले आफूहरुलाई भिडियोमा संगै देख्न चाहे आफूले नाइ भन्न नमिल्ने बताउँदै अगाडि भनेकी छिन्, ‘अरुसँग रोज्नुहुन्छ भने पनि मेरो तर्फबाट कुनै पनि प्रकारको ‘नकारात्मक’ प्रतिक्रिया मैले आजसम्म जनाएको छैन ।’

आफूसँग जोडिएर सहकार्य गरेकाहरुलाई यो कुरा प्रष्ट रहेको उनको भनाई छ । उनले आफूले आफ्नो श्रीमानसँग सहकार्य गर्नु र अरु कलाकारसँग सहकार्य गर्नुमा कुनै भीन्नता नरहेको स्पष्ट पारेकी छिन् । ‘जीवन भट्टराई मेरो श्रीमान हुनुअगावै उहाँ एक कुशल कलाकार हो । मलाई उहाँसंग काम गर्नु र अरु पुरुष कलाकारहरुसंग काम गर्नुमा कुनै भिन्नता छैन । र, जीवन जीलाई पनि अरुसँग काम गर्नु र मसंग काम गर्नुमा केही फरक छैन ।’ अभिनेत्री लक्ष्मीले यस प्रकारको हल्लाको पछि नलाग्ने सबैलाई आग्रह गरेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.