‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे अभिनेत्री आँचल सहित सम्पूर्ण टिम



काठमाडौं । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको चलचित्र ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । चलचित्र छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज, सहअभिनेत्री सृष्टि खड्का,प्रोडक्सन डिजाइनर क्षितिज सुवेदी समेत छन् । निर्देशक मिलन चाम्स, अभिनेता विवेक कर्माचार्य र छायांकार सुदीप बराल गत साता नै त्यसतर्फ लागिसकेका छन् ।

१५ दिन रोमानियाको राजधानी बुकारेस्टमा चलचित्रको छायांकन हुने जनाइएको छ । चलचित्रमा आँचल र विवेकले जोडी बाँध्दैछन् । चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त,किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने चलचित्रको कार्यकारी निर्माता डा.अमित रिजाल रहका छन् । चलचित्रमा अर्जुन पोखरेल र युग भुसालको संगीत,सुदिप बरालको डिओपी,अर्जुन जिसीको सम्पादन र रविन्द्र सुवेदीको छायांकन रहनेछ ।