काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’ आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको फिल्म हो । विनाशकारी भुइँचालो आएको ताका छायाँकन सुरु भएको फिल्म निर्धारित निर्माण बजेट सकिनु, प्रदर्शनको मुखमा कोभिड महाकारी फैलिनु लगायतका कारण प्रदर्शनमा ढिलाइ हुन पुगेको थियो । अन्ततः दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको फिल्म प्रदर्शनमा आएको हो ।
माओवादी द्वन्द्धको पृष्ठभूमिमा रहेर राजन कठेतले ‘दोख’को कथा लेखका हुन् । फिल्मले द्धन्द्धको कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई गाउँबीच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । गीत, पोष्टर, टिजर , टे«लरबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको फिल्मको व्यवसाय भने ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।
शुक्रबारदेखि हलिउड सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’ पनि नेपाली हलहरुमा रिलिज भएको छ ।