दया र विपिनको ‘के घर के डेरा’ कार्तिक ४ मा



काठमाडौँ। हालसालै मात्र छायाँकन सकिएको चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । राजधानी काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिएको छ ।

यो मितिमा निर्मात्री शर्मिला पाण्डेको चलचित्र ‘परस्त्री’ पनि रिलिज हुने तय भएको थियो । ‘परस्त्री’ अब फागुन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । कार्यक्रममा शर्मिलाले आफ्नो जेठा छोरा दीपेन्द्र के खनालको फिल्म ‘के घर के डेरा’का लागि कान्छो छोरा सुरज पाण्डेको ‘परस्त्री’लाई पछि सारेको बताइन् ।

चलचित्रमा अभिनेताद्धय दयाहाङ राई, विपिन कार्की, अभिनेत्रीद्धय वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । काठमाडौंमा घर नहुनेहरुको संघर्षपूर्ण जीवनशैलीलाई फिल्मले प्रस्तुत गर्नेछ । चलचित्रको निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन भने कार्यकारी निर्माता युवराज कार्की हुन् । रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको पनि अभिनय रहेको फिल्मलाई दीर्घ गुरुङले छायाँकन गरेका हुन् ।

चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, दिर्घ गुरुङको छायांकन,यम ओलीको प्रोडक्सन डिजाइन रहेको छ । चलचित्रको वितरण जिजिए ग्रुपले गर्नेछ। यहि मितिमा चलचित्र ‘२ नम्बरी र नालापानी’ पनि रिलिज हुने पक्का भैसकेको छ ।