‘वर एण्ड वधु’ टिम रोमानियामा



काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘वर एण्ड वधु’ को निर्देशन टिम यति बेला रोमानियामा पुगेको छ । निर्माता तथा निर्देशक मिलन चाम्सको साथमा छायाँकार सुदिप बराल,मुख्य सहायक निर्देशक गिरिराज घिमिरे लगाएतको टिम रोमानियामा पुगेको छ । त्यहाँको छायाँकनको तयारी पुरा गरे पश्चात यसै साता कलाकारको टिम रोमानिया प्रस्थान गर्ने निर्देशक चाम्सले बताए।

मल्टिस्टारर चलचित्रमा आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका रहनेछ । चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी,सन्तोष खनाल र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

चलचित्रको रोमानिया, इटाली र फ्रान्समा छायांकन गर्ने तयारी रहेको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने चलचित्रमा अर्जुन पोखरेल र युग भुसालको संगीत,सुदिप बरालको डिओपी,अर्जुन जिसीको सम्पादन र रविन्द्र सुवेदीको छायांकन रहनेछ ।