‘हे माया’मा सुधिर–श्रद्धा र सरोज–विनाको रोमान्स



काठमाडौं । ‘हे माया’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सेभेन ११ म्युजिक फ्याक्ट्रीको निर्माणमा तयार भएको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका गायक अनिल जोशी र गायिका रचना रिमालको स्वरमा समावेश यो गीतमा बिष्णु भट्टको शब्द तथा संगीत छ । सार्वजनिक गीतले युवतीहरुलाई युवाहरुले जिस्काएको भाव बोकेको छ । भिडियोलाई अहिलेका सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् ।

भिडियोमा सुधिर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बाल–कलाकार आर्या रेग्मीको अभिनय छ । निर्देशक चन्दले सुधिर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतारेका छन् । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अन्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चन्दले हतारमा यो भिडियो तयार पार्नुपरे पनि सबैको साथले राम्रो बनेको प्रतिक्रिया दिए ।