शुक्रबार : गीत रिलिजमा देखिएको होडबाजी



काठमाडौं । शुक्रबार गीत रिलिजमा होडबाजी देखिने गरेको छ । अन्य दिनको तुलनामा शुक्रबार तेब्बर भन्दा बढी गीत रिलिज हुने गरेका छन् । नेपालसँगै विदेशको सार्वजनिक विदालाई लक्षित गर्दै धेरैले शुक्रबार गीत रिलिज गर्ने गरेका हुन् । यो शुक्रबार पनि डेढ दर्जन बढी गीतहरु युट्युबमा रिलिज गरिएका छन् । आशा गरिएका म्युजिक भिडियोहरु पनि यो शुक्रबार धेरै छन् । जसमा प्रमोद खरेल, अस्मिता अधिकारीको स्वर रहेको ‘क्या छ खबर’देखि दुर्गेश थापाको ‘हुकुमको एक्का’सम्म छन् । दीपक शर्माको शब्द संगीत रहेको ‘क्या छ खबर’को भिडियोमा ओबी रायमाझी र जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडा प्रस्तुत छन् । डान्सिङ विटको गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।

यता, दुर्गेश थापाले चार महिनाको अन्तरमा ‘हुकुमको एक्का’बोलको गीत शुक्रबार रिलिज गरेका हुन् । आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा पनि दुर्गेश नै प्रस्तुत छन् । रुपेश थापाको निर्देशन रहेको भिडियोमा दुर्गेशलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

गायक तथा संगीतकार कृष्ण काफ्ले र इन्दिरा भट्टराईको स्वर मोहन थापाको शब्द रहेकोको ‘सिंह दरवार झ्याललैमा ऎना’ पनि सार्वजनिक भएको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ।

अस्मिता अधिकारी र सुवास ओकेको स्वरमा ‘तिमीसँग’बोलको गीत शुक्रबार नै युट्युबमा रिलिज गरिएको छ । यसको भिडियोमा सागर लम्साल र अनिता चलाउनेको अभिनय छ । भिडियोलाई राजिव समरले निर्देशन गरेका छन् । रानी शाक्य र बलबहादुर राजवंशीको स्वरमा ‘म डुब्दै गएँ’बोलको गीत पनि युट्युबमा रिलिज गरिएको छ । यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल गीता ढुंगानाको अभिनय छ ।

निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको मात्रै चारवटा गीत शुक्रबार रिलिज भएका छन् । शान्तीश्री परियार, अमृत सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘तीन फुर्के डोरी’ शुक्रबार नै रिलिज भएको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार यस तीज गीतको भिडियोमा कमल बुढाथोकी, अञ्जली अधिकारी र जुना सुन्दासको अभिनय छ । अन्य केही तीज गीत पनि शुक्रबार रिलिज भएका छन् ।