हिट फिल्मको सिक्वेललाई नयाँ निर्माताको खाँचो किन पर्यो ?


रघुनाथ सापकोटा

काठमाडौं । २०७६ साल मंसिर २१ गते प्रदर्शन भएको फिल्म ‘प्रसाद’ सफल मानिएको फिल्म हो । त्यतिबेला हिट भनेर निर्माता सुवास थापा प्रोडक्शनले ‘प्रसाद लाई प्रचार गर्यो । वितरकहरु उज्वल पौडेल, मनोज राठी र गोविन्द शाहीले फिल्मलाई वितरण गरेका थिए । हिट भनिएको फिल्मले अन्तिमसम्म सावा मात्रै कलेक्शन गरेको चर्चा समेत त्यतिखेर थियो । त्यस लगतै ‘प्रसाद’को सिक्वेल निर्माण गर्ने घोषणा गरिएको थियो ।

कोरोना कहर र विविध कारणले तीन बर्ष पछि प्रसाद सिक्वेलको औपचारिक घोषणा बिहीवार गरिएको छ । ‘प्रसाद’को सिक्वेलमा नयाँ निर्माता भित्रीएका छन् । केशव पाण्डे फिल्मको प्रस्तुतकर्ता रहने गरि ‘प्रसाद २’ मा भित्रिएका हुन् । हिट फिल्मको सिक्वेलमा नयाँ निर्माताको आवश्यकता किन भयो होला भन्ने धेरैलाई लागेको छ । निर्माण टिमका एक जनाका अनुसार फिल्मको कथामा निर्माता सुवास थापा हच्किएका हुन् । दुई करोड भन्दा बढि लागत लाग्ने देखिएपछि कथामाथी निर्माता पूर्ण विश्वस्त हुन नसक्दा नयाँ निर्माता भित्राएको बुझिन्छ । यद्धपी निर्माता थापा भन्ने यो कुरा अस्विकार गर्छन् । फिल्मको लागत बढि हुने भएकोले आफ्नो सहजको लागि नयाँ निर्मातासँग सहकार्य गरेको थापाले सेलेब्रेटी नेपालसँग बताए ।

निसन्तान दम्पतीसँगै अन्तरजातिय प्रेम कथामा बनेको फिल्म ‘प्रसाद’ले दर्शकलाई दुई कित्तामा विभाजन गरेको थियो । यसको सिक्वेल निर्माण गरिरहँदा कथामाथी निर्माण टिमले पूर्ण रिस्क लिन आनाकानी गरेपछि नयाँ निर्माता फिल्मका लेखक शुशिल पौडेलको सहयोगमा भित्रिएका हुन् । यति मात्र हैन फिल्मका मूख्य कलाकार र निर्देशकले फिल्म छाडेपछि पनि फिल्मप्रति चूनौती थपिएको हो । ‘प्रसाद’का निर्देशक दिनेश राउतले त ‘प्रसाद’को सिक्वेल बन्नै नसक्ने दावी गरेका थिए । उनले सिक्वेल निर्देशन गर्न मानेनन् । यस्तै ‘प्रसाद’का मूख्य कलाकार निश्चल बस्नेत पनि सिक्वेलमा काम गर्न तयार देखिएनन् । सुदर्शन थापाले निर्देशन गर्ने चलचित्र ‘प्रसाद २’ मा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा,राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारीको मुख्य भूमिका रहनेछ ।

प्रसादको सिक्वेल कतिको बलियो हुनेछ त्यो भने निर्माण पछि नै थाहा होला । जे होस् हिट फिल्मको सिक्वेलमा विना कारण नयाँ निर्माता भित्रिएको घटना नेपाली फिल्ममा निकै कम छ ।