‘प्रसाद २’ को औपचारिक निर्माण घोषणा



काठमाडौं। चलचित्र ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहने चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक निर्माण घोषणा गरेको हो ।

२०७५ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रसाद’को सिक्वेलको रूपमा ‘प्रसाद २’ बन्न लागेको हो । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए ।

सुशील पौडेलको लेखनमा निर्माण हुने चलचित्रबाट मेडिकल व्यवसायी केशव पाण्डेले चलचित्र निर्माणमा हात हालेका छन् । निर्माता सुभाष थापासँग पाण्डेले चलचित्रको निर्माणमा साझेदारी गरेका हुन् । कार्यक्रममा बोल्दै पाण्डेले कर्पोरेट क्षेत्रले चलचित्रमा लगानी गर्दा यो क्षेत्रको व्यवसायिकता माथी उठ्ने भन्दै लगानी गर्न तयार भएको बताए ।

कार्यक्रममा बोल्दै निर्देशक थापाले ‘प्रसाद’को मर्म र मुल्यलाई मर्न नदिने गरि यसको सिक्वेललाई तयार पार्ने बताए । अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने विश्वास व्यक्त गरे ।

लेखक पौडेलले यो चलचित्र नाम मात्रैको सिक्वेल नहुने बताए । ‘जहाँबाट प्रसादको कथा सकिएको छ ‘प्रसाद २’ त्यहिँबाट सुरु हुनेछ । बाबुराम र नारायणी गाउँ फर्किएपछि उनिहरूको जीवनमा आउने उतार चढाव नै सिनेमाको केन्द्र हो’, पौडेलले भने ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा,राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारीको मुख्य भूमिका रहेको छ ।

यही हप्ताबाट फ्लोरमा जाने सिनेमालाई कास्की जिल्लाको आसपास छायांकन गरिनेछ । ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिच्नेछन् भने सम्पादनको जिम्मा मिलन श्रेष्ठले लिएका छन् ।