प्रदीप स्टारर फिल्म ‘प्रकाश’को दोस्रो गीत रिलिज [भिडियो]



काठमाडौं । चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द एवं संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।

जुम्लाको परिवेशमा छायाँकन गरिएको चलचित्रको गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् । चलचित्रले वर्गीय विभेदको विषय प्रस्तुत गरेको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गीय विभेदकै विषय उठान गरेको बुझ्न सकिन्छ । चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदीप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले वर्गीय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।

गीतको बिचमा संवादमार्फत वर्गीय विभेदका कारण युवतीको परिवार समेत उनीहरुको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । युवतीको बुबाले बोलेको – ‘सपना देख्न सजिलो छ । तिनका हातमा न कुनै सीप छ, न जागिर, त्यो सँग बिहे गरिस भने त्यही समाजले तलाई भोली हेला गर्नेछ ।’ संवादले पनि समाजका बिभिन्न तहहरुमा जस्तै प्रेममा पनि वर्गिय असमानताको असर देखाएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।
महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।