८ वर्षपछि नेपाल आएकी अरुणिमा, ‘सुहाउँदो भूमिकामा अफर आए फिल्ममा अभिनय गर्छु’



काठमाडौं । एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसैसाता छोरीसहित नेपाल आएकी उनी बुधबार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् ।

त्यहाँ उनले अहिलेको चलचित्र क्षेत्र, आफ्नो सुन्दरताको रहस्य, हुनसक्ने सम्भावित ‘कमब्याक’ लगायतको प्रसंगमा रहेर मिडियासँग भलाकुसारी समेत गरिन् । अभिनेत्री प्रियंका कार्कीसँगै एउटै फ्रेममा रहेर मिडियासँग गफिएकी अरुणिमाले आफू दुई महिना नेपालमा रहने बताउँदै आफन्त, चलचित्र क्षेत्रका साथीहरु भेटघाटसँगै घुमघाममा समय बिताउने बताईन् । ‘८ वर्ष अमेरिकामा रहँदा नेपाली चलचित्रको एक्सन/कटलाई कत्तिको मिस गर्नुभयो ?सञ्चारकर्मीको प्रश्नमा अभिनेत्री लम्सालले भनिन् –‘मिस गर्नका लागि विर्सनुपर्छ । मैले कहिले पनि बिर्सिएकी थिइन् । जहिले पनि मेरो आत्मा, मन÷मस्तिष्क सबैमा एक्सन–कट, यो क्षेत्र, चलचित्रकर्मीहरु, मिडियाकर्मीहरु हुनुहुन्छ ।’

रोमान्टिक भूमिकामा रुचाईएकी अभिनेत्री अरुणिमाले चलचित्रमा कमव्याक गर्ने इच्छा रहेको र राम्रो कथावस्तुसहित सुहाउँदो भूमिकामा अफर आए अभिनय गर्न तयार रहेको बताइन् । पहिलेजस्तो टिनएजरको क्यारेक्टरमा भने प्रस्तुत हुने मन नरहेको बताइन् । ‘टिनएजरको क्यारेक्टरमा त म खेल्दिन् । किनभने आफैलाई पनि फिल लाग्दैन्’ उनले भनिन् ‘मेरो उमेरअनुसारको सुट हुने क्यारेक्टर आयो र जसले मलाई फेरी कमव्याक गराउँछ । दर्शकहरुमाझ अरुणिमा लम्साललाई सम्झनलायक क्यारेक्टरको साथ प्रस्तुत गराइन्छ भने पक्कै काम गर्छु ।’

चलचित्र उद्योगमा क्युट अभिनेत्रीको छवी बनाएकी अरुणिमा अहिलेपनि उत्तिकै सुन्दर देखिन्छिन् । उनले त्यसबारे ठट्टा गर्दै भनिन्, ‘हनुमानले सञ्जीवनी बुटीको एक टुक्रा मलाई दिनुभएको थियो ।’ उनले आफूभन्दा पछिल्लो पुस्ताका अभिनेत्रीहरुले चलचित्रमा राम्रै काम गरिरहेको र चलचित्र क्षेत्रपनि पहिलेभन्दा विकास भएको प्रतिक्रिया दिइन् ।
तस्वीर सौजन्य : मिलन ढुंगाना