युट्युबमा आउन थाले तीजका गीत, खुमन र शान्तीश्रीको ‘थरी थरी भोले’ रिलिज



काठमाडौं । तीज आउन दुई महिना बाँकी रहँदा तीजगीत सार्वजनिक थालेका छन् । असार १५ सँगै तीजका गीत सार्वजनिक हुन थालेका हुन् ।
लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थरी भोले’बोलको तीज गीत सार्वजनिक भएको छ । बिहीबार बिहानमात्रै सार्वजनिक यस गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमनकै संगीत रहेको गीतलाई सुनिल परियारले एरेन्ज गरेका छन् ।

गायत्री थापाको निर्देशन रहेको गीतको भिडियोमा गायक खुमन अधिकारी स्वयंमसँगै मोडल अञ्जली अधिकारी र अभिषेक खड्का प्रस्तुत छन् । जेरी भण्डारीको छायाँकन रहेको भिडियो नविन घर्तीमगरको सम्पादनपछि ‘शिव दर्शन फिल्मस्’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गायिकाद्धय एलिना चौहान र स्वस्तिका ढकालको स्वरमा ‘भो माया चाहिँदैन्’बोलको तीज गीत पनि सार्वजनिक भैसकेको छ । गम्भिर विष्टको निर्देशनमा तयार यस गीतको भिडियोमा मोडलद्धय गीता ढुंगाना र कविता न्यौपानेको नृत्य रहेको छ । गायिका सुजाता पाण्डेको स्वरमा ‘नाच्छु मजैले’बोलको तीज गीत पनि सार्वजनिक भैसकेको छ । मनिष पन्तको निर्देशनमा तयार भिडियोमा मोडल अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ । गायक एवं सर्जक सन्तोष केसीले अञ्जु पन्त र बादल थापा मगरको स्वरमा ‘सिम सिमे बर्खाको पानी’बोलको तीज गीत सार्वजनिक गरिसकेका छन् । केसीले यसलाई मोर्डन तीज गीत भनेका छन् । निर्देशक प्रकाश भट्ट, काजिश श्रेष्ठ, स्मृति तिमिल्सिना ‘गुरुआमा’ लगायतको निर्देशनमा छायाँकन भएका तीज गीतहरु पनि छिट्टै सार्वजनिक हुने तयारीमा छन् ।

तीज गीतमा हरेक वर्ष विकृतिका कुराहरू सुन्ने गरिन्छ । केही कलाकारहरूले भाइरल हुने मोहमा दुईअर्थी अपाच्य खालका तीजगीतहरू समेत ल्याउँदै आएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका तीजगीतहरू नल्याउन हरेक वर्ष अपिल समेत गर्दै आएको छ । यसवर्ष पनि दोहोरीगीत प्रतिष्ठानले अपाच्य श्रव्यदृश्य सामाग्रीहरू प्रयोग नगर्न अनुरोध गर्दै अपिलपत्र जारी गरिसकेको छ ।

यसवर्षको तीज भदौं १४ गते परेको छ ।