आफ्नै कोठामा मृत भेटीइन गायिका



काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृत फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौं नेपालटार एक घरमा कोठा भाडामा लिएर बस्ने सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । १०ः ४५ बजेको समयमा कोठामा खाटमै सुतेको अवस्थामा उनलाई मृत भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ । गायिका दिलमायाले शुक्रबार राती आफूलाई बाच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस् लेखेकी थिइन् ।

स्टाटस लेखेको भोलिपल्ट उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । केही गीतहरुमा स्वर दिएकी दिलमाया विशेष त लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । उनी केही समय अघि सम्पन्न राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषणा भएकी थिइन । उनले गाएका केही गीत सार्वजनिक हुन बाकी समेत छन् । उनको मृत्युमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।