स्वस्तिमाको ‘चिसो मान्छे’ प्रदर्शनमा



काठमाडौं । स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो । यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका निर्देशक दीपेन्द्र के. खनालले ‘चिसो मान्छे’को लेखन एवं निर्देशन गरेका हुन् ।

शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा स्वस्तिमाका अलावा अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् । आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी लगायतका कलाकारको समेत अभिनय छ । पोस्टर, टिजर र ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्रले विदेशमा मृत्यु भएर बाकसमा नेपाल आएको शवलाई गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्म तय गरिएको यात्राको कथा चलचित्रले पेश गर्छ ।

सुदूरपश्चिमको कथा, लवज र रहनसहनलाई चलचित्रले प्रस्तुत गरेको टे«लरबाट आँकलन गर्न सकिन्छ । यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका निर्देशक खनालको नयाँ चलचित्र ‘चिसो मान्छे’लाई पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

डीएस डिजिटल प्रालिको ब्यानरमा निर्माण भएको ‘चिसो मान्छे’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।