चाम्सको ‘वर एण्ड वधु’ नेपाली र हिन्दी भाषामा बन्ने



काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर चलचित्र ‘वर एण्ड वधु’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिए ।मल्टिस्टारर चलचित्रमा आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका रहनेछ । चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी,सन्तोष खनाल र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

जेठ अन्त्यदेखि छायांकन सुरु हुने चलचित्रको रोमानिया, इटाली र फ्रान्समा छायांकन गर्ने तयारी रहेको चाम्सले बताए । नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने निर्देशक चाम्सले बताए । नेपाली र हिन्दी भाषाका दर्शकलाई फिल्ममा आकर्षण गर्ने आशा उनले राखे ।

एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने चलचित्रमा अर्जुन पोखरेल र युग भुसालको संगीत,सुदिप बरालको डिओपी,अर्जुन जिसीको सम्पादन र रविन्द्र सुवेदीको छायांकन रहनेछ ।