प्रदीपको ‘प्रेमगीत ३’ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने



काठमाडौं। प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र आगामी असोज ७ गते घटस्थापनाको दिन बाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित भएको चलचित्र अब घोषित मिति मै रिलिज हुने निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । चलचित्र नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज हुनेछ । कोरोना महामारीका कारण रिलिज स्थगित भएपछि निर्माता,निर्देशक सेन मुम्वई पुगरे सिनेमालाई हिन्दीमा समेत डब गराएर रिलिज तयारी गरेका हुन् ।

चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ ।

यही चलचित्रबाट मनिष र क्रिष्टिनाले अभिनेता र अभिनेत्रीको रुपमा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दैछन् । काठमाडौं र मनाङमा छायांकन गरिएको चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । आशुषेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।