थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ यूट्युब ट्रेन्डिंगमा



काठमाडौं। नेपाली गजल गायनको दुनियामा फरक शैलीमा प्रस्तुत हुने गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ यतिबेला चर्चामा छ । भिडियो शेयरिंग प्लाटफर्म यूट्युब र टिकटकमा धेरै सुनिने र देखिने गीतमा केहि दिनयता ‘बेचेर सपना’ पर्दछ । यो गीत यूट्युब ट्रेन्डिंगमा समेत अग्र पंक्तिमा रहेको छ ।

पछिल्लो समय नेपाली गीत संगीतले अलग्गै बाटो समाएको समयमा गायक गौतमले ‘बेचेर सपना’ गजल चल्नु आफैमा असामान्य महशुस गरेका छन् । ‘गीत सबैले गाउँछन् तर जुन गीतले शरीरमा तरंग ल्याउछ अनि एउटा युगको भाषा बोल्छ त्यो नै सहि संगीत हो । अहिलेको समयमा यो गजल चल्नु अस्वभाविक लागेको छ, तर संगीतको कुनै धार हुँदैन र दिलछुने भयो भने जहिले पनि चल्न सक्छ भन्ने उदाहरण बनेको छ’, गायक गौतमले बताए ।

खासगरी यस गजलमा प्रयोग भएका बिम्बहरुले श्रोताको दिल छोएको छ । धेरै मानिसको जीवनमा कहिं न कहिं मेल खाने शब्द तथा तरंगीत तुल्याउने स्वर र संगीतको कारण यो गीत धेरैको रोजाईमा परेको छ ।

यसअघि थानेश्वरका ‘गाजल लगाईनछ्यौ’, ‘छुटनलाई पो रै’छ क्यारे’, ‘फुर्के धागो’, ‘खान्न भाउजू मस्यौरा’, ‘तिम्रा यादहरु’ जस्ता गजल गीतहरु लगातार चर्चित बनेका थिए । विश्वविद्यालयबाट संगीत विषयमा स्नातकोत्तर गरेका गौतमले सबैखाले गीतहरु जस्तै: शास्त्रीय, गजल, लोक, सालैजो, रोइला, भजन तथा चलचित्रका गीतहरु गाईसकेका छन् । यिनै गीतहरुका साथ नेपालीहरुको बसोबास रहने धेरै देशहरुमा उनले सांगीतिक कार्यक्रमहरु समेत गरेका छन् ।

‘बेचेर सपना’का शब्द श्रृजनाकार श्रीभक्त पौडेल ‘आफन्त’ हुन् । थानेश्वर स्वयंले यसमा संगीत भरेका छन् । गजलको भिडियोमा पुष्प खड्का, शुसिला थापा र स्मारिका ढकालको अभिनय रहेको छ । भिडियोमा सडक दुर्घटनामा परी देहान्त भईसकेकी श्रीमतिको यादमा तड्पिरहने युवाको कथा प्रस्तुत गरिएको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् भने मानकृष्ण महर्जनको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ ।