कांग्रेस प्रवेश गरेकी श्वेता भन्छिन्– मन, वचन र कर्मले भ्याएसम्मको योगदान दिने प्रयास गर्नेछु


काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफूले नेपाली कांग्रेस रोज्नुको कारणबारे स्पष्ट पारेकी छिन् । उनले धेरै पटक स्व–संवाद, स्व–विश्लेषण र स्व–विचार गरेर नेपाली कांग्रेस प्रवेश गरेको बताएकी छिन् । कलाकारिता, व्यवसाय, सामाजिक सेवाको बाटो हुँदै आफू यतिखेर खुल्ला राजनीतिक मूलधारमा प्रवेश गरेको श्वेताको भनाई छ ।

मंगलबार बिहान पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट कांग्रेस प्रवेश गरेकी खड्काले आफ्नो पारिवारिक पृष्ठभूमीले पनि आफूलाई नेपाली कांग्रेसको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भनेकी छिन्, ‘नेपाली कांग्रेसको नीति, सिद्दान्त र यसको मूल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थ नराखी स्वच्छ रुपमा सामाजिक विकास र विसुद्ध ‘सेवा’ को भाव बोकेर आफूलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन ।’

आफू एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले कांग्रेसभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हक–हितको निमित्त आफ्नो आवाज बुलन्द गर्ने उल्लेख गरेकी छिन् ।

श्वेताको स्टाटस् :
कलाकारिता, व्यवसाय अनि सामाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतिक मूलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव विशेश्वर प्रसाद कोईरालाको बारेमा पढ्दै र सुन्दै आईरहेकी मैले अन्ततः उनै महामानवको विचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेसंग आफ्नो आवद्दता जनाएकी छु । मैले लिएको यो राजनैतीक निर्णयप्रति विभिन्न क्रिया र प्रतिक्रियाहरु अवश्यनै प्राप्त हुनेछन् । यसरी प्राप्त हुने सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रियाहरुलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनैतिक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु ।

एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनु हुन्न भन्ने सोँच ब्याप्त छ । कलाकारले कलाकारिता नै गर्नुपर्छ, राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली कांग्रेसको राजनैतीक सिद्दान्तमा आफूलाई समाहित गराएकी छु । यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्व–संवाद, स्व–विश्लेषण र स्वःविचार गरेकी छु । मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास, परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ती टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जतिनै टाढा रहन खोजेपनी हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छ नै । त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ । अतः राजनैतिक यो अछुण्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आम परिवर्तनकारी, विकासप्रेमी तथा बुद्दिजिबी वर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु ।

राजनिती विसुद्द ‘सामाजिक सेवा’को क्षेत्र हो नकी ‘ब्यवसायिक पेशा’ । राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनको निमित्त अब हामी आफू पनि अग्रसर हुनुपर्ने आवश्यकता महशुश गरेकी छु । सधै राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरुप्रति धारे हात लगाउने अनि गालीको बर्षा गर्ने हाम्रो निष्क्रिय प्रवित्तिलाई त्याग्ने बेला आएको छ । सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिस्सा हुनु जरुरी छ । यसको लागि राजनीति नै एउटा उत्तम माध्यम हो । मैले यही माध्यमलाई आत्मसाथ गरेकी हुँ । यसको लागि मैले आदरणीय वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।

मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्दान्त खराब हुँदैन । त्यो सिद्दान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो । एमाले, कांग्रेस, माओवादी, रा.प्र.पा लगायत सबै दलका संस्थागत सिद्दान्तहरु राम्रा छन् । सबै दलले विकास, समृद्धि र परिवर्तनको एजेण्डा उठाएका छन तर ति एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन् । यही असफलताका कारण उद्योग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन् । हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्येक्ष नकारात्मक प्रभाव परिरहेको छ । अतः केही सिमित ब्यक्तिहरुको स्वार्थका कारण असफल भएका ति एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सक्रियताको खाँचो छ । पोखरी फोहर भयो भनेर पोखरीको लेउ लाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आफैले पोखरी भित्र छिर्ने हिम्मत गर्नुपर्छ । अतः सबै पार्टीमा धेरथोर लेउ लागेको छ, त्यसको सरसफाइको लागि हाम्रो सक्रियता खाँचो छ । मैले आफ्नो राजनैतिक सक्रियताको लागि भने नेपाली कांग्रेसलाई चुनेकी छु । मेरो पारिवारिक पृष्ठभूमीले पनि मलाई नेपाली कांग्रेसको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको हो । नेपालको राजनैतिक परिवर्तनमा अहम् भूमिका खेल्ने नेपाली कांग्रेस जस्तो विशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापती तथा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूप्रती हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनैतिक यात्राको लागि मलाई सधै हिम्मत, हौशला र उर्जा प्रदान गर्ने मेरो परिवार, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुप्रती म हार्दिक नमन गर्दछु । विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठूलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन वचन र कर्मले भ्याएसम्मको योगदान दिने प्रयास गर्नेछु । नेपाली कांग्रेसको निति, सिद्दान्त र यसको मूल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक विकास र विसुद्द ‘सेवा’ को भाव बोकेर आफूलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन । साथै, म एउटा कलाकार र व्यवसायी पनि भएको नाताले यस दलभित्र रहेर तमाम व्यवसायी र कलाकर्मीहरुको हकहितको निमित्त आफ्नो आवाज बुलन्द गर्नेछु । सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त नेपाली कांग्रेससंगको आवद्दताले मलाई थप मार्गप्रसस्त गराउनेमा विश्वस्त छु ।

अन्तमाः हरेक ब्यक्तिलाई आ–आफ्नो राजनैतिक स्वतन्त्रता छ । मेरो बैचारिक सिद्दान्तसंग मेल खाने राजनैतिक दलसंगको निकटता, आवद्दता वा सहकार्य पश्चात पनि फरक विचार राख्ने कुनै ब्यक्ती वा दलप्रती मेरो कुनै पूर्वाग्रह रहने छैन । जो जहाँ रहेपनी, जो जता गएपनि, देश र जनताको निमित्त निश्वार्थ भावले काम गर्न सकौं । जय नेपाल !