साताको संगीत बजार : आए चुनावीदेखि राजेश हमाल अभिनित गीत


काठमाडौं । पछिल्लो साता युट्युबमा दुई दर्जन बढी गीतहरु सार्वजनिक भए । प्रमोद खरेलले स्वर दिएका केही गीतहरु पछिल्लो साता युट्युबमा आएका छन् । उनको स्वरमा ‘भन निष्ठुरी’, ‘पानी मिठो सलल बग्ने खोलीको’, ‘चुपचाप मन पराएँ’, ‘यो सब तिमीले गर्दा हो’ जस्ता गीतहरु युट्युबमा आए ।

त्यस्तै, सुगम पोखरेल, प्रताप दासदेखि अन्जु पन्त, मेलिना राई, एलिना चौहान, रचना रिमालले स्वर दिएका गीतहरु समेत युट्युबमा आएका छन् । यता अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो पनि पछिल्लो साता सार्वजनिक भयो । प्रमोद खरेल र रचना रिमालको स्वरमा रहेको ‘पानी मिठो सलल बग्ने खोलीको’बोलको गीतको भिडियोमा अभिनेता हमाल मोडल सरु ढकालसँग प्रस्तुत छन् । आकाश श्रेष्ठ र वर्षा राउत अभिनित ‘धन्यवाद’, सुगम पोखरेल र अन्जु पन्तको स्वर तथा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयमा ‘स्वर्गकी अप्सरा’बोलको गीत युट्युबमा सार्वजनिक भयो । पुष्प खड्का र अन्जली अधिकारी अभिनित ‘मेरो मुटु’ सार्वजनिक भयो भने पुष्पले अभिनय गरेको ‘बेचेर सपना’बोलको गीतपनि सार्वजनिक भएको छ ।

प्रविशा अधिकारी र प्रताप दासको स्वर तथा लक्ष्मी वर्देवा र जिम्बे राईको अभिनयमा ‘माया बिछट्टै’, देबेन्द्र बब्लू र अस्मिता अधिकारीको स्वरमा ‘हिरोनी’, ईश्वर सिंह र शान्ती रानी परियारको स्वर तथा विनोद भण्डारी र नारायणी खत्रीको अभिनयमा ‘शिरफूल शिरको’बोलको पञ्चेवाजा गीत पनि सार्वजनिक भयो । उर्गेन दोङ, मिष्टर आरजे र एलिना चौहानको स्वर तथा सागर लम्साल ‘बले’, आकृति शर्मा, उर्गेन दोङ र मिष्टर आरजे अभिनित ‘के साह्रो’बोलको गीत पनि पछिल्लो साता सार्वजनिक भएको छ । कलाकार सागरले आफ्नो ‘बले ईन्टरटेन्मेन्ट’मार्फत यो गीत सार्वजनिक गरेका छन् । मेलिना राई र हिमाल श्रेष्ठको स्वरमा ‘द काटुर्न क्रु’का कलाकारहरुको अभिनय रहेको ‘ज्यानै दिउँला’बोलको गीत पनि पछिल्लो साता सार्वजनिक भएको छ ।

यी बाहेक ‘देशलाई फेरी एमाले चहियाछ’, ‘जय नेपाल भोट के मा रुखमा’, ‘मेरो देशै एमाले’ जस्ता चुनावी गीतहरु पनि युट्युबमा सार्वजनिक भए । पछिल्लो साता थुप्रै गीतहरु सार्वजनिक भएपछि अपेक्षित भ्युज भने अधिकांश गीतले पाउन सकेका छैनन् ।