काठमाडौं । नेपाल चलचित्र विकास वोर्डले वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको हो । २०७६/०७७ सालमा प्रदर्शन भएका चलचित्रहरूमध्ये १० विधामा पुरस्कार वितरण गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कार वितरण गरिन् । समारोहमा चलचित्र ‘आमा’बाट दीपेन्द्र के. खनालले उत्कृष्ट निर्देशकको समेत अवार्ड प्राप्त गरे ।
यस्तै, चलचित्र ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड पाए भने ‘आमा’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन । उत्कृष्ट पटकथा र संवादतर्फ चलचित्र ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराईले अवार्ड प्राप्त गरे । उत्कृष्ट छायांकनतर्फ ‘छ माया छपक्कै’बाट हरि हुमागाईं उत्कृष्ट भए भने उत्कृष्ट सम्पादनतर्फ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड जिते ।
आदिवासी–जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ उत्कृष्ट बन्यो । प्रोत्साहन पुरस्कार जुरीतर्फको अवार्ड चलचित्र ‘जीवन काँडा की फूल’बाट अवस्था थापाले प्राप्त गरिन् भने ‘रातो टीका निधारमा’ चलचित्रबाट यही अवार्ड अंकित शर्माले प्राप्त गरे ।
समारोहमा अभिनेत्री भुवन चन्द थापा र संगीतकार शम्भुजित बाँस्कोटालाई नगद तीन लाख ५१ हजार नगद तथा सम्मानपत्रसहित ‘चलचित्र दीर्घ साधना’ सम्मानबाट सम्मानित गरियो । चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै अभिनेता राजेश हमाल, अभिनेत्री गौरी मल्ल, चैत्यदेवी सिंह, निर्देशक शम्भु प्रधान, अभिनेता नवल खड्का, रविन्द्र खड्कालगायतलाई पनि सम्मान गरिएको थियो । समारोहमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतको समेत उपस्थिति थियो ।