दुई दशकपछि सञ्जय किशोरको ‘धेरै भो’ नयाँ संस्करणमा (भिडियो)



काठमाडौं। गायक सञ्जय किशोर श्रेष्ठले आफ्नै पुरानो गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन् । झण्डै १८ वर्षअघि लोकप्रिय भएको पप गीत ‘धेरै भो किन तिमी आउँदैनौ…’ लाई रि–एरेञ्ज तथा रि–रेकर्ड गर्दै गायक सञ्जय किशोरले नयाँ म्युजिक भिडियोमार्फत सार्वजनिक गरेका हुन् । शैशव किशोर श्रेष्ठ यो गीतको अडियो निर्माता हुन् ।

सार्वजनिक गीतमा संगीतकर्मी जेम्स प्रधानको शब्द तथा संगीत समावेश छ । संगीतकर्मी प्रधानकै अनुमति लिएर गायक श्रेष्ठले यो गीतलाई पुनः रेकर्ड गरेको शनिवार काठमाडौंमा आयोजित प्रिमियर शोमा जानकारी गराए ।

नयाँ रेकर्डिङ गरिएको गीतमा तुन्नाबेल थापाको संगीत संयोजन छ । गीतमा मनिष गन्धर्वको सारंगीवादनलाई समावेश गरिएको छ । सन् २००४ मा सार्वजनिक भएको ‘बजेट २००४ः इमोशन’ एल्बममा समावेश यो गीत नयाँ एरेञ्जमेन्टसहित पुनः दर्शक तथा स्रोतामाझ आएको हो ।

ओएसआर डिजिटलको यूट्युबबाट सार्वजनिक भिडियोलाई भूमिका देवानले निर्माण गरेकी हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् ।

भिडियोमा अभिनेता तथा मोडल जोर्डन राजभण्डारी तथा अभिनेत्री अञ्जली अधिकारीका साथमा राम भण्डारी, किरण कुमार शर्मा, जयराम बर्मा, ममता दाहाल, गीता थापा आदि कलाकारले अभिनय गरेका छन् । भिडियोमा निसल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।

गायक सञ्जय किशोरले गीतको नयाँ संस्करणलाई अनप्लग्ड शैलीमा गाएको बताउँदै यसमा सारंगी, गिटार तथा किबोर्डहरु खेलाइएको स्पष्ट पारे । आफ्ना भाइ शैशव किशोर श्रेष्ठका कारणले आफू यो गीतको नयाँ भर्सन ल्याउन तयार भएको बताउँदै सञ्जय किशोरले रि–एरेञ्ज तथा रि–रेकर्डपछि गीत थप कर्णप्रिय तथा आकर्षक बनेको बताएका छन् ।

भूमिका देवान यो भिडियोकी निर्मात्री हुन् । आफूलाई मन पर्ने गीत पुनः नयाँ स्वरुपमा आउने भएपछि आफू यसको भिडियो निर्माण गर्न तयार भएको निर्मात्री देवानको भनाइ छ ।