‘ए मेरो हजुर ४’ मा भित्रिए र्यापर जि-बब, हटाइयो दुर्गेसको दृश्य



काठमाडौं। आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ को एक गीतमा जि-बब नामले परिचित र्यापर सुदीप भण्डारीले स्वर दिएका छन् । गीतमा उनकै शब्द तथा संगीत रहेको छ ।

अभिनेता पल शाह प्रकरणमा मुछिएपछि ‘ए मेरो हजुर ४’ बाट मोडल तथा गायक दुर्गेश थापाको दृश्य हटाइएको छ । चलचित्रमा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाइएको छ । निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यानमा राखेर दुर्गेशको दृश्य हटाइएको बताए ।

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्रको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।