दयाहाङ,बिपिन र बर्षाको ‘के घर के डेरा’ निर्माण घोषणा



काठमाडौं। कमेडी तथा सोसल ड्रामा चलचित्र ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।

कोरोना महामारी अघि यही शीर्षकमा चलचित्र निर्माणको घोषणा गरिएपनि हाल निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको मंलबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण टिमले जानकारी दिएको हो । निर्देशक खनालले कथावस्तु र नयाँ टिमसहित चलचित्रलाई अघि बढाइएको जानकारी दिए ।

वैशाख तेस्रो सातादेखि सुरु हुने चलचित्रको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकाभित्रै गरिनेछ । निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको चलचित्रलाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।