कलाकार रविन्द्र झा र सन्दीप क्षेत्री ‘हेल्लो जिन्दगी’ को प्रमोसनमा



काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ आगामी शुक्रबार अर्थात चैत १८ गते बाट प्रदर्शनमा आउंदैछ । निर्माण पक्षले प्रदर्शनको दुई दिन अघि बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा चलचित्रका दुई अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईं उपस्थित थिएनन् । तर चलचित्रमा नरहेका कलाकारद्वय सन्दीप क्षेत्री र रविन्द्र झा भने उपस्थित थिए ।

सन्दीप र रविन्द्रले ‘हेल्लो जिन्दगी’ हेर्न दर्शकलाई आग्रह गरे । निर्देशक एभरेस्ट सूर्य बोहराको अघिल्लो फिल्म ‘श्री’मा सहकार्य गरेका सन्दीप प्रमोसनमा साथ नदिने कलाकारप्रति केही आक्रामक देखिए ।

उनले भने, ‘आफूले खेलेको फिल्मलाई लिएर कोही उत्साही छैन भने त्यो कलाकार होइन ।’ उनले कलाकारभन्दा फिल्म स्वादिलो बन्नु महत्वपूर्ण कुरा भएको बताए ।

निर्देशक बोहराले फिल्मको प्रचारप्रसारमा दुवैजना नायिका नहिंडेको कुरालाई लिएर आफूले हैरानी खेपेको बताए । ‘मलाई बिहानैदेखि सबैजनाले यही प्रश्न सोध्नुभएको छ । हामीले उहाँहरुले मागेजति पैसा पनि दिएका छौं । उहाँँहरुको रोल पनि अधुरो छैन,’ उनले भने ।

पैसाकै कारण आफूहरुबीच दरार नआएको उनले दाबी गरे । ‘हामीले थुप्रै उतारचढावको बीचबाट पनि राम्रो फिल्म ल्याउँदैछौं,’ निर्देशक बोहराले भने, ‘कलाकारले फिल्ममा अभिनय गरेकै हुनुपर्ने रहेनछ, फिल्ममा नभए पनि हामीसँग फिल्मलाई माया गर्ने कलाकार पनि छन् । व्यक्तिभन्दा पनि उद्योग महत्वपूर्ण हो।’

अभिनेता विक्रम जोशीले दक्षिण भारतीय तथा अन्य विदेशी फिल्मले चौतर्फी घेरिरहेको अवस्थामा फिल्म रिलिज गर्न लागिरहेको बताए । फिल्मको कथावस्तु विदेशमा घटेको एक यथार्थ घटनामा आधारित रहेको उनले बताए । चलचित्रको प्रोमोसनका लागी निर्देशक मिलन चाम्स,निर्देशक शोभित बस्नेत,अभिनेता अनुप बिक्रम शाही पनि उपस्थित थिए।

चलचित्रमा विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त लगायतको अभिनय छ । बिरन्जना ईन्टरटेन्मेन्टको प्रस्तुतिमा श्रीजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्र महारानी इन्टरटेनमेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्म्ससँगको सहकार्यमा निर्माण भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.