‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश



काठमाडौँ। चैत्रको तेश्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग चलचित्रको निर्माण पक्षले सोमबार कागजी संझौता गरेको हो ।

अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्रमा भित्रन पाउँदा आफूलाई खुशी लागेको बताइन् । यो चलचित्रमा अभिनेत्री वर्षा राउतले काम गर्ने पक्का भएको थियो । तर, वर्षा राउत बाहिरिसँगै निर्माणपक्षले उपासनालाई भित्राएको हो । चलचित्रमा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ ।

आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रको कथावस्तु अझै परिमार्जन गरेर बलियो बनाएको निर्देशक लामाले बताए । यस चलचित्रले २ साथीको कथा भन्नेछ । चलचित्रमा दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।