हमालको ‘गाउँले ठिटो’ सार्वजनिक (भिडियो)



काठमाडौं। अभिनेता राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनय समेत हमालकै रहेको भिडियो सार्वजनिक गरिएको हो । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै हमालले आफु गायक नभई नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । विद्यालय जीवन सम्झँदै हमालले भने, ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै बरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । छ कक्षा पढ्ने बेलासम्म उहाले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । १० कक्षा पुग्ने बेला सम्ममा चाहिँ खै के भयो स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरेको थिईन । अहिले आएर गीत गाउने प्रयास गरेको हुँ ।’

संगीतकार सन्तोस श्रेष्ठले आफुले आजसम्म जम्मा दुईजनाको घरमा आफैले हार्मोनियम लिएर गएको बताए । उनले भने, ‘मैले राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरे र महानायक राजेश हमालको घरमा नै पुगेर उहाँहरुको अगाडी हार्मोनियम बजाएको छु । जसरी साहित्यमा राष्ट्रकवि गौरवको बिषय हुनुहुन्छ त्यसैगरी चलचित्रमा महानायक पनि गौरव हुनुहुन्छ । यसर्थ पनि मैले उहाँहरुको घरमै हार्मोनियम बोकेर पुगेको हुँ ।’ श्रेष्ठले चल्तीका गायकको स्तरमा नै हमालले यो गीत गाएको जिकिर गरे ।

गीतकार गोबिन्द भट्टले नेपालको वास्तविकतालाई गीतमा उतारेको बताए । ‘महानायकको रुचि र चाहनाअनुसार धेरैजसो नेपालीको भोगाई र वास्तविकतालाई गीतको रुपमा लेखेको हुँ । यो गीतको माध्यमबाट महानायकले दिएको सन्देश अहिलेको परिप्रेक्ष्यमा अति नै महत्वपूर्ण छ’, भट्टले बताए । हमाल अभिनित पाँचवटा म्य़ुजिक भिडियो निर्देशन गरेका देवेन्द्र पाण्डेले हमालसँग ऐतिहासिक काम भएको बताए ।