फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को प्रदर्शन मिति घोषणा



काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदिप खड्का स्टारर चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा प्रदीपलाई निक्कै भिन्न अवतारमा देख्न सकिन्छ ।

यसअघिका चलचित्रमा लभरव्वाय भूमिकामा देखिदै आएका प्रदीपले यसपटक चुनौती मोलेरै नयाँ पात्रको रुपमा आफुलाई ढालेका छन् । उनको गाउँले लूक्सले दर्शकको ध्यान केन्द्रित गर्न सक्छ । उनले विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको भूमिका निर्वाह गरेका छन् । सरकारी शिक्षक बन्ने संघर्ष नै चलचित्रको मुख्य कथा हो ।

पोस्टरमा प्रदीपसँगै दीया मास्केपनि फिचर्ड छिन । उनिपनि गाउँले महिलाको भूमिकामा छिन । चलचित्रमा प्रदीप र दीयाका अलवा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

चलचित्रको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रलाई जीवन थापाले सम्पादन गरेका छन् ।

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । चलचित्रलाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।