‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण जुलाईमा



काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजनामा सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो

यसअघिका चारवटै संस्करणहरु अमेरिकाका विभिन्न राज्यहरुमा भएका थिए । सन् २०१६, २०१७ र २०१८ मा कोलोराडोको डेनभर शहरमा साथै २०१९ मा क्यालिफोर्नियाको सान्सफ्रान्ससिस्को शहरमा भव्य रुपमा अवार्ड सम्पन्न भएका थिए । विश्वमहामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन ।

‘नेपाललाई विदेशीहरुमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार वा परिचित गराउनु पनि यस कार्यक्रमको महत्वपूर्ण लक्ष्य हो । सो कार्यक्रममा विगतमा पनि हलीउडका निर्माता निर्देशकहरुलाई निम्ताउने गरिएको मात्र होइन, मन्चमा नै नेपाली वा विदेशी गीतमा विदेशीहरुबाट नृत्य प्रस्तुत पनि गरिएका उदाहरणहरु हामीमाझ छन्‌ । यसपटक पनि सो प्रयास निरन्तर रहने छ’, अवार्डका अध्यक्ष श्रेष्ठले बताए ।

नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले बताए ।