हिमाली प्रेमकथाको ‘मन्त्र’ वैशाख १६ बाट प्रदर्शनमा आउने



काठमाडौं । हिमाली क्षेत्रको प्रेमकथामा आधारित सौगात मल्ल, दीया पुन,बुद्दि तामाङ स्टारर चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित गरेको चलचित्रले आगामी वैशाख १६ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

निर्माण टिमले मंगलबार नेपाल चलचित्र विकास कम्पनी बालाजुमा पत्रकार सम्मेलन गर्दै उक्त मितिमा चलचित्र रिलिज गर्न लागिएको जानकारी दिए । अन्तर्राष्ट्रिय नारी दिवस र अभिनेत्री दीया पुनलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्न आयोजित कार्यक्रममा चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो ।

खिल बहादुर गुरुङ निर्देशित गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छायांकन गरिएको चलचित्रले हिमालमा बस्नेहरुको प्रेमकथा भन्छ । ‘यो कल्चरल फिल्म समेत हो । हिमालमा बस्ने केटाले केटीलाई गर्ने मायाको शैली प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ निर्देशक गुरुङले भने, ‘यसले त्यहाँको संस्कृतिलाई पनि बुझ्न मद्दत गर्छ ।’

अभिनेत्री पुनले आफ्ना लागि संख्याभन्दा पनि फिल्मको गुणस्तरले अर्थ राख्ने बताइन् । ‘मलाई यस्तै कल्चरल र क्वालिटी फिल्ममा काम गर्न मन छ,’ उनले भनिन्, ‘संख्याभन्दा पनि क्वालिटीको पछि लाग्दा कमै फिल्ममा काम गरेकी छु ।’

अभिनेता सौगात मल्लले पनि एउटै खाले फिल्ममा काम गर्दागर्दा दिक्क लागेको बताए । ‘एक्टरको रुपमा यस्तो महसुस सबैलाई हुन्छ,’ उनले भने, ‘तर मन्त्र यस्तो लभस्टोरी हो, जसले सबै दर्शकलाई अग्र्यानिक स्वाद चखाउँछ ।’

कार्यकारी निर्माता देवेन्द्र मानन्धरले त्यतिबेलाको हिमाली प्रेमकथा बुझ्न पनि अहिलेको पुस्ताको दर्शकले ‘मन्त्र’ हेर्नुपर्ने बताए । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.