आना,शिव,सौगात र अर्पणको ‘लप्पन छप्पन २’ प्रदर्शनमा



काठमाडौं। मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाल र विदेशमा छायांकन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । ट्रेलरले मुख्य पात्रले निर्वाह गरेको चरित्रलाई पनि उजागर गरेको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट,आना ढकाल लगायतका कलाकारको अभिनय छ ।

बिगत ५ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् ।

चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिएकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउछिन् । विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई बिश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल न्युरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । चलचित्रमा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।